३१ बैशाख चरिकोट
भीमेश्वर नगरपालिकाको फायर ब्रिगेडले जनतालाई सुरक्षाको अनुभूति दिलाएको नगर प्रमुख ईश्वर मानन्धरले बताउनुभएको छ । नगरका फायर ब्रिगेडमा कार्यरत कर्मचारीका लागि पालिकाले आयोजना गरेको ५ दिने आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिमको आज उद्घाटन गर्दै मेयर मानन्धरले फायर टिमको प्रशंसा गर्नुभएको हो ।
भीमेश्वर नगरले आगलागी घटना नियन्त्रणका लागि अन्य छिमेकी पालिकालाई पनि सहयोग गरेको प्रसंग सुनाउँदै उहाँले आगामी दिनमा पालिकाको फायर टिमलाई थप मजबुत बनाउन सबैखाले उपकरण र जनशक्ति ब्यवस्थापन गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
नगरपालिकाका विपद फोकल पर्सन इन्जिनियर सुरेश राउतले सबै वडातहमा विपदस्तरीय कमिटी निर्माण भैसकेका र ती क्रियाशील रहेका जानकारी दिनुभयो । उहाँले विपदका बेला पालिका, सेना, प्रहरी र वन कार्यालयको संयुक्त प्रयासले आगो नियन्त्रण गरिँदै आएको बताउनुभयो ।
युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा हिमालयन इन्स्टिच्यूट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस (हाइफेस)ले यस तालिममा प्राविधिक सहजीकरण गर्दैछ । हाइफेसका प्रमुख प्रशिक्षक सहदेव नगरकोटीले पुनर्ताजगी तालिममा दैनिक जीवनमा आइपर्ने आगलागीका घटनामा सामना गर्ने सीप प्रदान गरिने साथै नवीनतम उपकरण चलाउन सिकाइने जानकारी दिनुभयो ।
कार्यक्रममा तयार नेपालका फिल्ड संयोजक थिरबहादुर थापा, हाइफेशका अध्यक्ष सुशील राउत, नगरपालिका विपद तथा वातावरण शाखाका वरिष्ठ अधिकृत नारायण सेढाईँ, इन्जिनियर नारायण शिवाकोटी, स्थानीय ब्यापारी नवराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
तालिममा भीमेश्वर नगरपालिकाका १४ र जिरी नगरपालिकाका २ जना गरी १६ जना सहभागी रहेका छन् । तालिमको क्रममा नगरपालिकाको दमकल निकै ब्यवस्थित र सुरक्षित रहेको तथा विपद रेस्पोन्स प्रणाली चुस्त दुरुस्त रहेको भन्दै प्रशिक्षकहरुले प्रशंसा गरेका छन् ।