काठमाडौं । मछिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा मच्छिन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज पुनः शीर्ष स्थानमा फर्किएको हो ।
खेलमा सुरुआती अग्रता चर्च ब्वाइजले नै लिएको थियो । खेलको ४०औँ मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । कमल श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा अन्जनले हेडर गोल गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको चर्च ब्वाइजले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाउँदा एक गोल भने खान पुग्यो । खेलको ६६औँ मिनेटमा मछिन्द्रका लागि ओमोलाजा करिमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । मन्छिद्रले पाएको पेनाल्टीमा करिमले गोल गरेका हुन् ।
चर्च ब्वाइजका फ्रान्क्लिन क्वेटे टाल्लाले पेनाल्टी क्षेत्रभि मछिन्द्रका आन्द्रेस नियालाई लडाएपछि मच्छिन्द्रले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि ७१औँ मिनेटमा चर्च ब्वाइज आत्मघाती गोलमा पुनः अग्रता लियो । चर्च ब्वाइजका कमल श्रेष्ठको कर्नर प्रहारमा मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले बल समाउन खोज्दा आफ्नै पोस्टभित्र खसालेपछि चर्च ब्वाइजले पुनः २–१ को अग्रता लिएको थियो । बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल चर्च ब्वाइज युनाइटेडले २–१ गोल अन्तरले जितेको हो ।
जितसँगै चर्च ब्वाइज युनाइटेड लिगको शीर्ष स्थानमा फर्किएको छ । १६ खेलबाट ३० जोडेर चर्च ब्वाइज दोस्रो स्थानको जावलाखेलभन्दा ३ अंकले अगाडि छ । १६ खेल नै खेलेको जावलाखेल युथ क्लबको २७ अंक छ । लिगको तेस्रो स्थानमा रहेको थ्रीस्टारको २५ अंक भने चर्च ब्वाइजसँग पराजित भएको मच्छिन्द्र २४ अंकसहित चौथो स्थानमा छ ।
आर्मीमाथि एपीएफको सानदार जित
‘ए’ डिभिजन लिगकै अर्को खेलमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि सानदार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ४०औँ मिनेटमा अर्मान्ड विडोङ्गले गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० को अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५५औँ मिनेटमा आभाष लामिछानेले गोल गर्दै एपीएफको अग्रता दोब्बर बनाएका थिए ।
त्यसपछि खेलको ६२औँ मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई ३–० गोल अन्तरको जित दिलाए ।