काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा व्यवस्थापन नियमावली, २०७४ अनुुसार विद्यालयको चिह्न (लोगो) र नाम राख्न आग्रह गरेका छन् । काठमाडौं महानगरका विद्यालयले नेपालीपन झल्किने नाम राख्नुपर्ने अन्यथा कानुनी कारबाही गर्ने चेतावनी उनले दिएका छन् ।
काठमाडौं महानगरपालिकाले विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउने भएको छ। महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको हो ।काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ६९ र ७० तथा नियम ७० को उपनियम १ र २ ले विद्यालयको मौलिक नेपाली नाम राख्न र विद्यालयको चिह्न ९लोगो०मा एकरुपता ल्याउने सम्बन्धी व्यवस्था गरेको छ । कतिपय विद्यालयले नियम पालना नगरेकाले मेयर बालेनले आज आइतबार बिहान सामाजिक सन्जालमार्फत् नियम पालना गर्न आग्रह गरेका हुन् ।
नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ।
यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ।
कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ। विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ।
तर यो उपनियम लागू हुनु अगावै नियम विपरीतका शब्दहरू जोडेर नामकरण भइसकेका विद्यालयको हकमा यो नियमावली जारी भएपछिको दोश्रो शैक्षिक–सत्रको सुरुदेखि नै लागू हुने गरी उपर्युक्त व्यवस्था पालना गर्न वा पुनः नामकरण गर्नुपर्ने महानगरले जनाएको छ।
मेयर शाहले नियमको पालना गर्दै विद्यालयको चिह्न र नाममा एकरुपता ल्याएर मौलिक र मापदण्ड अनुरुप रहन आग्रह गरेका छन्।