अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाले आगलागी सुरक्षा जोखिममा आसपासका पालिकाहरुलाई पनि सघाउने भएको छ । गोदावरी नगरपालिकाले आयोजना गरेको आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिम उद्घाटनमा यस्तो बताइएको हो ।
५ दिने तालिमको आज उद्घाटन गर्दै उपप्रमुख शारदादेवी रोकायले गोदावरी नगरपालिकाले फायर ब्रिगेड स्थापना गरी आगलागी जोखिमको पूर्व तयारी र ब्यवस्थापनमा राम्रो अभ्यास गरिरहेको बताइन् । यो तालिमबाट थप ज्ञान सिकेर अन्य पालिकाहरुमा पनि परेको बेला सहयोग गर्न सक्षम जनशक्ति उत्पादन हुनुपर्नेमा उनले जोड दिइन् ।
युएसएआइडी तयार नेपाल परियोजनाको आर्थिक सहयोगमा गोदावरी नगरपालिकाले आयोजना गरेको तालिममा सहजीकरण गर्ने जिम्मा हिमालयन इन्स्टिच्युट अफ फायर इमर्जेन्सी सर्भिस प्रालि (हाइफेस)ले लिएको छ ।
कार्यक्रममा बोल्दै हाइफेसका अध्यक्ष सुशील राउतले यो तालिम आफैँले लिँदा निकै महँगो पर्न जाने बताए । उनले तालिम हाल अमेरिकी जनताको सहयोगमा प्राप्त भएको कोषमार्फत सञ्चालन गरिएकोले यसलाई अवसरको रुपमा लिएर धेरै भन्दा धेरै सीप हाँसिल गर्न सहभागीलाई आग्रह गरे ।
पाँच दिनसम्म प्रशिक्षण गर्न फायरफाइटिंगमा ४ दशक काम गरेका अनुभवी प्रशिक्षक सुदर्शन थापा प्रमुख प्रशिक्षकको रुपमा रहेका छन् । प्रशिक्षक थापासहित हाइफेसले ८ जनाको प्राविधिक टिमसहित प्रशिक्षण गर्ने जनाएको छ ।
तालिममा गोदावरी र कृष्णपुर नगरपालिकाका १५ जना सहभागीहरु छन् । कार्यक्रममा २ महिलासहित १३ जना पुरुषले सहभागिता जनाएका हुन् ।
तालिमलाई ब्यवस्थित ढंगले सञ्चालन गराउन तयार नेपालका फिल्ड कोअर्डिनेटर निराजन चौधरी र नगरपालिका विपद फोकल पर्सन सुलोचना खड्काले महत्वपूर्ण भूमिका खेलेको उपप्रमुख रोकायले जानकारी दिइन् ।