७ बैशाख,
लम्कीचुहा कैलालीको लम्कीचुहा नगरपालिकामा आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिम समापन चल्दै गर्दा स्थानीय समुदायमा आगो लागेपछि केहीबेर कार्यक्रम प्रभावित हुन पुग्यो । तालिमको पाचौँ दिन आज लम्कीचुहाको शान्ति होटलमा मेयर सुशीला शाहीले समापन गर्नै लाग्दा आगलागीको जानकारी आएपछि कार्यक्रम केहीबेर स्थगन भएको थियो । जानकारी पाउनेबित्तिकै फायरफाइटर टिम र प्रशिक्षकको टोलीसँगै नगरपालिकाको दमकल पनि अघि बढ्यो । हलमा बाँकी रहेका जनप्रतिनिधि, प्रशिक्षार्थी र अन्य बाँकी सहभागीहरु उनीहरुलाई कुरेर बसे ।


यो क्षेत्रमा आजकल आगलागीका यस्ता घटना दैनिकजसो हुन्छन् । दिनमा तीन चार घटना पनि हुने गर्छन् । आज नै बिहान कार्यक्रमको तयारी हुँदै गर्दा दमकल टोलीले एउटा घरमा आगो निभाएर आएको थियो ।
उपमेयर जुना चौधरीले कार्यक्रममा बोल्ने क्रममा बिहान भएको आगलागी घटनामा फायर फाइटरहरुले बुद्दिमत्तापूर्ण ढंगबाट आगो नियन्त्रण गरेकोमा प्रशंसा गरिन् । साथै चौधरीले आज तालिमको पाँचौँ दिन आगलागीमा कसरी भिड्ने र नियन्त्रणमा लिने भन्ने ड्रिल अभ्यासको सट्टा तालिमको टोलीले वास्तविक घटनामै बहादुरी देखाएर काम गरेको भन्दै प्रशंसा गरिन् । उपमेयर चौधरीले आगलागीका घटनाबाट क्षणभरमा मानिसको मृत्युसँगै अंगभंग हुने र धनको सर्वनाश भई मानिस सडकछाप हुन पुगेका उदाहरण पनि सुनाइन् ।

यस क्षेत्रमा वर्षेनी आगलागीका यस्ता घटना हुने गरेका र यसखाले तथ्याङ्क पनि उच्च रहेकाले नेपाल सरकार र युएसएआइडीको तयार नेपालको परियोजना मार्फत नगरका कर्मचारीलाई आगोसँग भिड्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको हो । नगरपालिकाको समन्वय र आयोजनामा प्राविधिक प्रशिक्षणको जिम्मेवारी हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस प्रालि (हाइफेस) ले पाएपछि तालिम गत बैशाख ३ गते सुरु गरिएको थियो ।

तालिम दिने शैलीको मेयर सुशीला शाहीले खुलेर प्रशंसा गरिन् । सुनेको भन्दा धेरै गुणा राम्रो र ब्यवस्थित तालिम सञ्चालन गरेको भन्दै उनले हाइफेससँग आगामी दिनमा समन्वय गर्ने बताइन् । मेयर शाहीले नगरपालिकामा अब निकै ब्यवस्थित र भब्य फायर ब्रिगेड बनाएर लैजाने आफूले सोचीरहेको र यसमा सबैले सहयोग गरिदिन कार्यपालिका सदस्यहरुलाई आग्रह पनि गरिन ।
.jpg)
हाइफेसकी प्रमुख प्रशिक्षक सुनिता भारद्वाजले आजसम्म हाइफेसले देखाउनका लागि मात्रै नभएर वास्तवमै सिकाउन र व्यवहारमा लागू गर्नसक्ने गरी तालिम दिएको बताइन् । उनले उत्पादन भएका जनशक्तिलाई नगरपालिकाले संरक्षण गरी टिकाउन पनि जोड दिइन् ।

नगरपालिकाको विपद शाखाले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष माया विष्ट, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बूढा, हाइफेसका अध्यक्ष सुशल राउत, प्रशिक्षक अरुण पौडेल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण प्रशिक्षकहरुलाई प्रशंसापत्र वितरण समेत गरिएको थियो । जनप्रतिनिधि, सामाजिक संस्थाका प्रतिनिधि र छिमेकी नगरपालिकाका प्रतिनिधिहरुको उपिस्थितिमा सम्पन्न भएको कार्यक्रमको डिजाइन नगरपालिका विपद शाखाका प्रमुख जीवन न्यौपाने र तयार नेपालका फिल्ड संयोजक प्रेमलाल कुश्मीले गरेका थिए ।

आगो नियन्त्रमा गएको टोली परालको ठूलो कुन्यूमा लागेको आगो नियन्त्रण गरेर आयपश्चात सबै सहभागीले स्वागत गरे । खानापछि सामूहिक तस्वीर खिचाएर कार्यक्रमको समापन गरिएको थियो ।