काठमाडौं । क्यापिटल मिडिया ग्रुपकी वरिष्ठ सम्वाददाता भावना हमाललाई नेपाल बौद्ध अम्बेडकर महासभाले यस बर्षको महिला पत्रकारिता सम्मान प्रदान गरेको छ ।
भारतका संविधान निर्माता बाबा साहेब डा. भीमराव अम्बेडकरको १३२ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पत्रकारिताका माध्यमबाट समाजलाई योगदान गरेकोमा हमाललाई उक्त सम्मान प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि भिक्छु अशोक महास्थवीरले बुद्धले विश्वमा समतामुलक समाज स्थापना गर्न क्रान्ति सुरुवात गरेको बताए । उनले समाजमा शोषित,पीडित समुदायको मुक्तिका लागि डा.बाबा साहेबले अभियान नै चलाएको बताए ।
यस्तै, नेपाल बौद्ध अम्बेडकर महासभाका केन्द्रीय अध्यक्ष मनोज जैगडीले नेपालमा जातीय उत्पीडनबाट उन्मुक्ति पाउनका लागि बाबा साहेबको विचारधारालाई आत्मसाथ गर्नुपर्ने बताए ।
कार्यक्रममा पूर्व मन्त्री केशवमान शाक्य, विशेन्द्र पासवान, रिजवान अन्सारीले नेपालमा दलित, जनजाति, आदिवासी, महिला, मुस्लिम समुदायको उत्थानका लागि बाब साहेबको विचारधारलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा क्यापिटलकर्मी भावना हमाल सहित ६ जना सञ्चारकर्मीलाई सम्मान प्रदान गरिएको थियो ।