बर्दिया । राजापुरका फायर फाइटरहरुले आगलागीका घटना जहाँ आइपरे पनि सहयोग गर्न जाने उद्घोष गरेका छन् । बर्दियाको राजापुर नगरपालिकामा ५ दिने आगलागी ब्यवस्थापन पुनर्ताजगी तालिमको समापन कार्यक्रममा आज सहभागीहरुले यस्तो बताएका हुन् ।
युएसएआइडी तयार नेपालको आर्थिक सहयोगमा राजापुर नगरपालिकाले आयोजना गरेको तालिममा हिमालयन इन्स्टिच्युट अफ फायर एण्ड इमर्जेन्सी सर्भिस प्रालि (हायफेस)ले प्राविधिक प्रशिक्षण दिएको हो ।
तालिमको समापन गर्दै मेयर दीपेश थारुले राजापुर सधैँ आगलागीको उच्च जोखिममा रहेको र यसबाट बच्न नगरपालिका प्रयत्नरत रहेको जानकारी दिए । नगरपालिकामा आम्दानीको स्रोत निकै कम रहेको र आगलागी नियन्त्रणमा धेरै जनशक्ति तथा सामग्री आवश्यक भएकाले सोचेजस्तो काम गर्न नसकिएको मेयर थारुको भनाइ थियो । यद्यपि नगरपालिकामा दक्ष जनशक्ति उत्पादन भइसकेकाले आवश्यकता अनुसार परिचालन गरिने उनको भनाई छ ।
तालिमका दौरानमा राजापुरको समुदायमा तीन पटक आगो लागेको र ती आगो नियन्त्रणमा तालिमका सहभागी र हाईफेसको चुस्त दुरुस्त सक्रियताले आफू निकै आभारी भएको मेयर थारुले बताए ।
समापन कार्यक्रममा प्रशिक्षक सुमित पराजुलीले तालिममा सहभागी युवामा देखिएको फायर फाइटिंगप्रतिको जोश र उत्साहको प्रशंसा गरे । छोटो समयको तालिममा सहभागीले धेरै कुरा सिक्न सकेको उनले बताए ।
कार्यक्रममा बोल्दै हाइफेसका अध्यक्ष सुशिल राउतले आगो नियन्त्रणमा कसैले सहयोग नमागे पनि स्वतस्फूर्त ढंगले सहयोग गर्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गरे । यो स्वयंसेवी काम भएकाले यसबाट पछि नहट्न र कामको सिलसिलामा जहाँ पुगेपनि सहयोग गर्न अध्यक्ष राउतको अनुरोध थियो ।
तालिममा राजापुर नगरपालिकाका ११ पुरुष तथा ४ महिलासहित कुल १५ जना सहभागीहरु रहेका थिए । तालिमको समन्वयमा तयार नेपालका फिल्ड कोअर्डिनेटर लोकनारायण पोखरेल र नगरपालिकाका विपद फोकल पर्सन खुशीराम थारुको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ ।