काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान) ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका रुपमा प्रयोग हुँदै आएको कीर्तिपुर मैदानमा मैदानबाहिरका अधिकांश पूर्वाधारलाई सम्भव भएसम्म अन्तर्राष्ट्रियस्तरको बनाइँदैछ ।
क्यानले यो प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा खेलाउनेछ । दुवै मैदानको तयारी अन्तिम चरणमा पुगेको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताए ।
त्रिविमा मैदान र पीचको स्तरोन्नत्तिका साथसाथै रंगशाला क्षेत्रमा सरसफाइ, तारजाली मर्मत, पर्खाल र गेट निर्माणदेखि सजावट तथा विभिन्न कक्षहरु व्यवस्थापनको काम भइरहेको छ ।
मैदानको बाहिरको पर्खालदेखि फाटेका जालीहरु निमार्ण गर्ने काम भइरहेको छ । भेन्यू तयारीको जिम्मेवारी पाएका क्यान कोषाध्यक्ष सिंहले कीर्तिपुर मैदानको स्तरोन्नतिका लागि १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् ।
‘अहिलेसम्म पनि यति नै खर्च भन्ने निश्चित भइसकेको छैन । तर, कीर्तिपुर मैदानमा ठूलो खर्च हुने काम धेरै छैन । १० देखि १२ लाखमा यो मैदान तयार हुन्छ,’ उनले भने ।
हाल कीर्तिपुर मैदानमा बाहिरका भित्ता रङ्गाउनेदेखि पीच तयारसम्मको कार्य भइरहेको छ ।दर्शक बस्ने चौरलाई छेकिएको पर्खाल पछिल्लो पटक भएको लिग २ को खेलमा दर्शक थेग्न नसक्दा भत्किएको थियो । उक्त क्षेत्रमा पनि अग्लो बनाइ तारबार लगाइएको छ । ‘दर्शक बस्ने चौरमा छिर्ने मुख्य गेट भत्किएको थियो । लिग २ को अन्तिम खेलको दिन दुई समर्थक घाइते पनि भएका थिए । त्यसलाई मर्मत गरेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।
अन्तर्राष्ट्रिय खेल सञ्चालन भए पनि कीर्तिपुर मैदानको डगआउट र ड्रेसिङ रुम फर्निसिङ पूरा भएको थिएन । हाल ड्रेसिङ रुममा १५ वटा किट र्याक, १५ सेट खेलाडीलाई हुने गरी ड्रेसिङ दराज तयार गरिएको छ ।
‘मैले दुबई र श्रीलंकामा अन्तर्राष्ट्रिय ड्रेसिङ रुम देखेर आएको छु । सोही अनुसार यहाँ पनि हामीले बनाउने काम लगभग सक्न लागेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।
यस प्रतियोगिता भेन्यू निर्माणमा हुने अधिकांश खर्च एसियन क्रिकेट काउन्सिल ९एसीसी०बाटै आउनेछ । ‘खर्चको एकीन रुपमा भन्न सकिँदैन । एसीसीमा हामीले बनाएर पठाएको खर्चको स्वरुप अनुसार नै खर्च आउनेछ । यहाँ भएका लगभग खर्च एसीसीकै मातहतमा हुनेछ ।’
यसबाहेक मूलपानी मैदानमा कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयले पनि सहयोग गरेका कारण खर्च कम तथा चाँडै काम सक्नका लागि सहयोग पुगेको कोषाध्यक्ष सिंहले बताए ।