काठमाडौं । ललितपुरको बखुण्डोलस्थित निर्माणाधीन समिट अपार्टमेण्टका कारण स्थानीयवासी मारमा परेका छन् । अर्बपति तथा सांसद विनोद चौधरीको स्वामित्वमा रहेको निर्माणाधीन अपार्टमेण्डका कारण वरपरका घर भासिएपछि स्थानीय क्षतिपूर्तिको माग गरिरहेका छन् । ललितपुर महानगरले क्षतिपूर्ति दिलाउने त बताएको छ तर पीडितहरु विश्वस्त बन्न सकेका छैनन् ।
अपार्टमेण्टको जग खन्ने क्रममा दुई वटा घर ध्वस्त भएका छन् । एउटा ६ तले घरको भुईंतल्ला जमिनमुनि भासिएको छ भने आधा दर्जनबढी घरमा क्षति पुगेको छ । अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घर भासिएपछि भागदौड गर्ने क्रममा कतिपय मानिस घाइते भएका छन् । अपार्टमेन्ट निर्माण क्रम त रोकिए पनि पीडितको घरबासका विषयमा भने अन्योल यथावत छ ।
सांसद, राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र प्रशासन प्रमुखहरुले क्षतिपूर्तिका बारेमा बोलेका त छन तर पीडित अलमलमा छन् । ललितपुर महानगर भने अपार्टमेन्ट निर्माण अवैध भएकाले सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित निर्माण कम्पनीले व्यहोर्नुपर्ने लतिलपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन बताए ।
गैरकानूनी ढंगले अपार्टमेन्ट बनाएर आफ्नो निजी सम्पत्तिमा क्षति पुर्याउने काम भएको भन्दै स्थानीय खनिएका छन् । साम, दाम, दण्ड, भेदका भरमा आफूहरुको न्याय पाउने ढोका बन्द हुन नहुने उनीहरु बताउनछन् ।
ललितपुर महानगरले निर्माण कम्पनीले नियमानुसारको निवेदन, प्रक्रिया र निर्माण स्वीकृति नलिई काम थालेको जनाएको छ । मेयर महर्जनले यस विषयमा निर्माण कम्पनी प्रमुख विनोद चौधरीलाई कार्यकक्षमा बोलाएर ध्यानाकर्षण गराएका थिए ।
अत्याधुनिक अपार्टमेन्ट बनाउने प्रतिस्पर्धाले उपत्यकाभित्र अन्य थुप्रै ठाउँमा यस्ता किसिमका जोखिम बढ्ने खतरा छ । त्यसैले सरोकारवाला निकायले बन्न लागेका, बन्ने क्रममा रहेको यस्ता संरचनाका विषयमा समयमै निगरानी राख्न जरुरी छ ।