साउदी अरवबाट काठमाडौँका लागि थप १५ वटा चार्टर उडान हुने भएका छन् । साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडान तालिका सार्वजनिक गरेको हो ।
दूतावासका अनुसार सेप्टेम्बर ६ देखि ३० तारिखसम्म रियाद तथा दमामबाट उडान हुने जनाउदै नेपाल जानका लागि आफूलाई पायक पर्ने मिति र एयरलाइन्सबाट टिकट लिन सकिने जनाएको छ । साउदी अरवबाट पीसीआर परीक्षण गरेर नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्टसमेत साथमा लिनुपर्ने र नेपाल पुगेपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाइएको छ ।
यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेको बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ ।
पीसीआर परीक्षण नगरी चाटर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ । नेपाल एयरलाइन्सले सेप्टेम्बर ७ र १९ तारिखमा दमामबाट उडान भर्ने भएको छ ।
हिमालय एयरलाइन्सले सेप्टेम्बर ६,९,१३,१६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने जनाएको छ । यसैगरी, नेपाल एयरलाइन्सले सेप्टेम्बर ८,१८,२०,२४ र २८ मा दमामबाट काठमाडौंको लागि उडान गर्ने दूतावासले जनाएको छ ।