काठमाडौं। केहि समय अगाडी देखि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका नौ जना युवाले फोहोर प्लाष्टिकबाट फर्निचर लगायतका सामग्री निर्माण गरेर बिक्री गर्दै आएका छन् ।
नवलपुरमा इकोफ्याक्ट्री प्रालि नामक कम्पनी खोलेर नौ जना युवाहरुले फोहोरलाई व्यावस्थापन संगै घर बाहिर चाहिने हरेक सामान उत्पादन गर्दै आएका छन् । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएको फोहोरको प्लाष्टिक खरिद गरेर फर्निचरका सामानहरु ; खाट, टेबल, कुर्सी, पलङ लगायतका सामाग्री र ब्लक, टायल, इन्टरलक उत्पादन गरेर बिक्री गर्दै आएको कम्पनिका संचालक दिपक उप्रेतीले बताए ।
उनले भने- फोहोरलाई व्यावस्थापन गरेर सामग्री उत्पादन गर्न थालेको तीन वर्ष भइसक्यो । घाम, पानीले समेत वर्षौसम्म केही गर्न नसक्ने सामग्रीहरु ३० वर्षको ग्यारेन्टीसमेत दिएर बिक्री वितरणको काम गर्दै आएको छ् ।
फोहोरलाई मोहरमा परिणत गर्ने उद्देश्यका साथ यो उद्योग खुलेको हो । तर, हेटौंडा उपमहानगरपालिकाबाट अहिलेसम्म कुनै पनि सहयोग नपाएको उनको गुनासो छ । फोहोर व्यावस्थापनका लागि सहयोग गर्नुको साटो फोहोर समेत स्थानीय सरकारले उपलब्ध गराउन चासो दिएको उनले गुनासो गरे ।
दुई करोड १८ लाख रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो । हेटौंडा सँगै युवाहरुले चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पनि फोहोरलाई संकलन गरेर सामग्री उत्पादन गर्ने भएका छन् । गाउँ र शहरका फोहोरलाई सुन्यमा झार्ने उद्देश्यका साथ उद्योग खालेको अर्का सञ्चालक रुपेशराज कुँवर बताए । ८ जना युवाले फोहोरबाट सामग्री उत्पादन गर्ने भनेर खोलिएको उद्योगमा कच्चा पदार्थको अभाव हुन थालेको छ ।