काठमाडौं। सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू भएको छ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन यहाँका नागरिकले माग गरेका हुन् ।
कैलालीको धनगढी उप–महानगरपालिका–१३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । चिकित्सालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गरे ।
आयुर्वेदिक विधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागि संघीय सरकारले बजेट बिनियोजन गरेको थियो । प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार मातहत राखिएको छ । चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठूलो सम्पत्तिका रुपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवर्द्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताए ।
आयुर्वेद चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शैयाको स्वीकृति पाएको प्रादेशिक आयुर्वेद चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरू हुँदैछ । चिकित्सालयले अहिले बहिरङ्ग सेवा, प्रयोगशाला र पञ्चकर्म–पूर्वकर्म, होमियोपेथी उपचार सेवा दिइरहेको छ । साथै वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको छ ।
चिकित्सालयले स्वास्थ्य शिविर सञ्चालन गरेसँगै बिरामी आउने क्रम बढेको जनाएको छ । दैनिक १ सय ५० भन्दा बढी बिरामीले चिकित्सालयबाट सेवा लिइरहेका छन् । पञ्चकर्म–पूर्वकर्म विधिबाट समेत उपचार सुरू भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धति पर्ने विश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रशोधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्यसँगै आर्थिक विकासमा पनि लाग्नुपर्नेमा आम नागरिकको जोड छ ।
धनगढी उपमहानगरपालिका– १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको थियो ।गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरू गरेको चिकित्सालयमा हाल दैनिक लगभग २ सय बिरामी आउन थालेका छन् । चिकित्सालयले बिस्तारै अन्य सेवा थप्ने जनाएको छ ।