काठमाण्डौ । वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पुनः एकीकरण कार्यक्रम सञ्चालनका गर्न ८१ पालिकाले प्रस्ताव पेस गरेका छन् ।
सुरक्षित आप्रवास सामी कार्यक्रम लागू भएका ३९ जिल्लाका ८१ पालिकाले पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव पेस गरेको वैदेशिक रोजगार बोर्डका निर्देशक तथा सूचना अधिकारी राजन पौडेलले जानकारी दिए ।
यसै वर्षदेखि पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न लागेको बोर्डले सामी कार्यक्रम लागू भएका ३९ जिल्लाका पालिकाहरूसँग पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि प्रस्ताव माग गरेको थियो ।
प्रस्ताव पेस गर्ने बागमती प्रदेशका २१ मध्ये १९ वटा पालिकासँग बोर्डले कार्यक्रम सञ्चालनका लागि सम्झौतासमेत गरिसकेको र आउँदो हप्ताभित्रै ८१ वटै पालिकासँग सम्झौता गरिसक्ने पनि सूचना अधिकारी पौडेलले बताए ।
पालिकाहरूले आफ्नो आवश्यकता अनुसार पुनः एकीकरण कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गर्ने योजनासहित प्रस्ताव पेस गरेका छन् ।
बोर्डले चालु आर्थिक वर्षमा पुनः एकीकरण कार्यक्रम सञ्चालनका लागि १५ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । निर्देशक तथा सूचना अधिकारी पौडेलका अनुसार कार्यक्रम सञ्चालन गर्ने पालिकालाई लाभान्वित हुने एक जना बराबर ४३ हजार रुपैयाँका दरले कार्यक्रम सञ्चालनका लागि बजेट उपलब्ध हुनेछ । यो बजेट सीप विकास र व्यवसाय प्रवर्द्धनका लागि खर्च हुने छ ।
उद्यमशीलता तालिम दिएपछि कोही व्यक्तिले व्यवसाय वा उद्यम गर्न चाहेमा बिउ पुँजीका रूपमा पालिकाले प्रत्येक व्यक्तिलाई ३५ हजार रुपैयाँ एकमुष्ट उपलब्ध गराउने छन् ।
बोर्डका निर्देशक तथा सूचना अधिकारी पौडेल भन्छन् ‘वैदेशिक रोजगारीबाट फर्किएर देशमै केही गर्छु भन्नेहरूलाई आत्मनिर्भरताको अभ्यास गर्न यो कार्यक्रमले सिकाउने छ भन्ने हाम्रो विश्वास छ ।’
वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई देशभित्रै आत्मनिर्भर बनाउन पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्नका लागि बोर्डले छुट्टै कार्यविधि नै ल्याएको छ । कार्यविधि अनुसार नै चालु आर्थिक वर्षमा ८१ पालिकाहरूले पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्दै छन् ।