काठमाडौं। विराटनगर महानगरपालिकाले लागू गरेको पार्किङ निषेधित क्षेत्रलाई विराटनगरका व्यापारीले अवज्ञा गरेका छन् ।
बजारको सडकमा पार्किङ नहुँदा व्यापार सुस्ताएको भन्दै व्यापारीले महानगरपालिकाको निर्णय अवज्ञा गरेका हुन् ।
व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकाले नो पार्किङ अभियानलाई थप कडाइ गर्ने निर्णय गरेको छ । विराटनगर महानगरपालिकाले मेन रोडको जलजला चोकदेखि ट्राफिक चोकसम्म र अन्य भित्री सडकमा पार्किङ निषेध गरेको थियो ।
व्यापारीले अवज्ञा गरेपछि महानगरपालिकामा स्थानीय प्रशासन, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायको बैठकले पार्किङ निषेधित क्षेत्र (नो पार्किङ) प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्किङलाई व्यवस्थित गर्दै संयुक्त बजार अनुगमनलाई सूक्ष्म रुपमा अघि बढाउने, राजस्व अभिवृद्धि अभियानलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
विराटनगर महानगरपालिकालाई व्यवस्थित बनाउने दायित्व सबैको भएकाले महानगरले सुरु गरेको अभियानमा स्थानीय प्रशासनले सहयोग गर्ने मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।
आइतबार बसेको महानगरको कार्यपालिका बैठकले समेत यसअघि महानगरले कार्यान्वयनमा ल्याएको नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
व्यापार सुस्ताएको भन्दै केही दिनयता व्यापारीले आफ्ना सवारी साधन सडकमा राखेर नो पार्किङको अवज्ञा गर्दै आएका छन् ।
अवज्ञापछि सडकलाई नो पार्किङ बनाउने अभियानबाट पछि नहट्न भन्दै जनस्तरबाट महानगरपालिकामाथि दबाब आएको मेयर नागेश कोइरालाले बताए ।
मेयर कोइरालाले वैकल्पिक पार्किङलाई व्यवस्थित बनाउँदै लैजाने बताए । उनले सवारी साधनको सुरक्षाका लागि वैकल्पिक पार्किङमा सीसी क्यामरा र बत्तीसमेत तत्कालै जडान गरिने बताए ।
महानगरलाई व्यवस्थित बनाउने यसअघिका निर्णयबाट पछि हट्न नसकिने उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।
बैठकमा यसअघि ट्राफिक प्रहरी र नगर प्रहरीले गर्दै आएको ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समेत सहयोग गर्ने मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए ।
कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतोले भीआईपीको आउजाउ भइरहने स्थानमा राम्रो ट्राफिक व्यवस्थापन भए देशभरी राम्रो सन्देश जाने बताए ।