काठमाडौं । वैशाख १० मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। मनोनयन दर्ताका लागि सम्बन्धित क्षेत्रमा सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय दिइएको छ।
आयोगले निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ।
उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा बाजा, गाजा, झाँकी तथा निर्वाचन आचारसंहिता, २०७९ विपरितका व्यानर, चिन्ह र झण्डासहित जान नहुने आयोगले जनाएको छ। यसैगरी उम्मेदवारको मनोनयको समयमा उम्मेदवारको पहिचान झल्किने लोगो, टिका, चिन्ह, टिसर्ट, ज्याकेट, कमिज, ब्याज, मास्क, लकेट, झोला, टोपी, गम्छा, ब्यानर, प्लेकार्ड प्रयोग गर्न पाइने छैन।
निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवी लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं२ का लागि उपनिर्वाचन हुन लागेको हो।