सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा फायर ब्रिगेडका लागि ५ दिने फायर फाईटिङ्ग पूनर्ताजगी तालिम उद्घाटन गरिएको छ । नगरपालिकामा आईपर्ने आगलागी, विपदजन्य घटना न्यूनीकरण गर्न तालिम आयोजना गरिएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख गंगाराम सुनारले तालिमको उद्घाटन गर्दै आगलागी व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्नु नगरपालिकाको उपलब्धीमूलक कार्य भएको बताए । उनले आधुनिक किसिमका नयाँ घरहरु र त्यहाँ रहने जनधन सुरक्षाका लागि नगरपालिकाले २४ घण्टे सेवा उपलब्ध गराउनुपर्ने बताए ।
कार्यक्रमको सभाध्यक्ष समेत रहेकी नगरप्रमुख मोहनमाया ढकालले नगरपालिकामा हुनसक्ने अग्नीजन्य घटना नियन्त्रणका लागि यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले आवश्यक औजारसहित दक्ष जनशक्ति परिचालन गरेर वीरेन्द्रनगर र आसपासका नगरपालिकामा सेवा पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको जानकारी दिइन् ।
USAID तयार नेपालको आर्थिक सहयोग र Himalayan Institute of Fire & Emergency Services -HIFES को व्यवस्थापनमा नगरपालिकाले आयोजना गरेको तालिम ५ दिनसम्म संचालन हुनेछ ।
तालिमका वरिष्ठ प्रशिक्षक सुनिता भारद्वाजले स्थानीय तहहरु आफ्नो सेवा क्षेत्रभित्र आवश्यक औजार र दक्ष जनशक्तियुक्त बन्नसके अग्नीजन्य घटनाबाट हुने क्षती निकै कम गराउन सक्षम रहने बताइन् ।
कार्यक्रममा नगरपालिका उपप्रमुख नीलकण्ठ खनाल, प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारी, उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कंडेल, तयार नेपालका फिल्ड अधिकृत राजेश सोनी र HIFES का अध्यक्ष सुशील राउतले मन्तव्य राखे ।
तालिममा सुर्खेतका वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट साथै दैलेख जिल्लाको दुल्लु नगरपालिकाका २३ जना प्रशिक्षार्थीहरु सहभागी छन् ।
हेर्नुहोस् तस्वीरहरु-