काठमाडौं । १० दलीय गठबन्धनको बैठक निर्णयविहीन भएको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्ष बिना नै सकिएको हो । मन्त्रिपरिषद् विस्तारको निर्णय गर्न बसेको बैठक दलहरुले आफ्नो आफ्नो दाबी नछोड्दा बिना निस्कर्ष सकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधबार फेरि बसेर निस्कर्ष निकाल्ने बताए । उनले हिजोको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको बताए ।
प्रमुख सचेतक लेखकले मन्त्रालयको बारेमा केही समस्या नरहेको पनि बताए । उनले बैठकमा मन्त्रालय भागबण्डाको विषयले प्रवेश नपाएको बताए । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए ।
दलहरुबीच मन्त्रालय भागबन्डाको कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्न सकेका छन् । कांग्रेसले अर्थसहित आठ मन्त्रालयमा दाबी गर्दै आएको छ भने एकीकृत समाजवादीले कम्तिमा तीन मन्त्रालय पाउनु पर्ने अडान लिँदै आएको छ ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले गृहसहित साविकै मन्त्रालय पाए मात्रै सरकारमा सहभागी हुने सर्त अगाडि सारेको छ । चैत ६ गते संसदबाट दोस्रो पटक विश्वासको मत लिनु भएका प्रधानमन्त्री प्रचण्डले एक साता बित्दा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् ।