काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन्। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रोपटक संसदबाट विश्वासको मत लिन लागेका हुन्। पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबिच बनेको समीकरण राष्ट्रपतिको निर्वाचनसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए। उनलाई ६ दलका १०५ जना सांसदले विश्वासको मत दिएका थिए। गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन्।
राप्रपा बाहिरिएपनि अहिलेसम्म एमाले भने सरकारबाट बाहिरिएको छैन। यता, कांग्रेस कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा भने मुख्यमन्त्री नै आफुले पाउनुपर्ने माग राख्दै आएका छन्। ११० जना सांसद रहेको प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ।
प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन्।