काठमाडौं । चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशन पैचिङमा शुरू भएको छ । यो सम्मेलनको नयाँ राष्ट्रिय समितिका लागि ५ वर्षिय कार्यावधिमा रहेको पहिलो वार्षिक अधिवेशन हो । सम्मेलनमा राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खछ्याङलगायत राष्ट्रिय जन कांग्रेसका तीन हजार नयाँ प्रतिनिधिहरू उपस्थिति रहेको छ ।
अधिवेशनबाट चीनका नयाँ राष्ट्रिय संस्थाका सदस्य निर्वाचित हुने, सरकारी कार्य प्रतिवेदनको लेखाजोखा हुने र यस वर्षको चीनका आर्थिक सामाजिक विकसित मुख्य लक्ष्य तथा सरकारी प्रशासिक कार्यनीति पारित हुनेछ ।
अधिवेशनमा सरकारी कार्य–प्रतिवदेन पेश गर्दै प्रधानमन्त्री ली खछ्याङले विगत पाँच वर्षमा चीनको आर्थिक सामाजिक विकासले ठूलो उपलब्धि हासिल गरेको बताएका छन् । साथै चीनको राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन मात्रा १२१० खर्ब युआन पुगेर सरदर वार्षिक आथिक बृद्धिदर ५.२ प्रतिशत पुगेको प्रतिवदेनमा उल्लेख गरिएको छ । विगत दश वर्षमा करिब ७०० खर्ब बृद्धि भएर वार्षिक सरदर बृद्धिदर ६.२ प्रतिशत पुगेको छ । यसबाट चीनको आर्थिक शक्ति स्पष्ट बृद्धि भएको प्रष्ट हुन्छ ।
साथै विगत पाँच वर्षको अवधिमा चीनको सुधार तथा खुलापन निरन्तर गहन रूपमा बढाइएको, बीआरआई वास्तविक रूपमा अगाडि बढेको, चीनको माल–समानको आयात–निर्यात कूल रकम ४०० खर्ब युआनभन्दा बढी पुगेको र भित्र्याइएको विदेशी पूँजी तथा बैदेशिक लगानी विश्वको अघिल्लो स्थानमा रहेको पनि प्रतिवेदनमा उल्लेख छ । यसबाहेक, चीनले गरिबीको निवारण, बैज्ञानिक तथा प्राविधिक आविष्कार र वातावरणको सुधार आदि क्षेत्रमा पनि ठूलो उपलब्धि हासिल गरेको छ ।
त्यस्तै, शहर र गाउँमा १ करोड २० लाख व्यक्तिका लागि नयाँ रोजगारीको अवसर थपिने प्रधानमन्त्री लीले बताएका छन् । शहर र गाउँमा बेरोजगार दर करीब ५.५ प्रतिशत हुनेछ । वासिन्दाको उपभोग मूल्यमा ३ प्रतिशतले बृद्धि हुनेछ भने आयात र निर्यातमा स्थिरताका साथ बृद्धि हुने प्रतिवेदनमा उल्लेख छ । चीनको अन्तर्राष्ट्रिय आयव्याय आधारभूत रुपमा सन्तुलित हुनेछ । पर्यावरणीय वातावरण गुणस्तर स्थिरताका साथ सुध्रिने पनि उल्लेख गरिएको छ ।