काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् ।
राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज काठमाडौंमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले नेता पौडेलले नेपाली राजनीतिमा गरेको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गरे ।
सभापति देउवाले भने, “नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न।”
नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उनको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति मुलुकको अभिभावक भएको र राष्ट्रपतिबाट मुलुकको भौगोलिक अखण्डता, स्वाभिमान र जनहितको जगेर्नामा भूमिका र योगदान हुने बताए ।
उनले विगतमा राष्ट्रपतिको भूमिकाका सम्बन्धमा केही गुनासो आएको उल्लेख गर्दै पूर्वसभामुख पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यस्तो गुनासो नआउने विश्वास व्यक्त गरे ।
राष्ट्रपति पदका उम्मेदवार पौडेलले अहिलेको संविधानको व्यवस्थाका लागि आफूले छ दशक बढी समय अथक प्रयास गरेको र संविधानको शब्द र भावसँग आफू पूर्ण परिचित भएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा आएपछि संविधानमा कुनै तलमाथि हुन नदिने प्रण गरे ।