काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ।
चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ। बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए।
उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको बताए। चीनमा नेपाली चियाको अनलाइन विज्ञापन शुरु भइसकेको पनि उनले बताए । भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गरे ।
विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन, भारत, केन्या, श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो। अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ।
गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको छ। नेपाली चियाको निर्यात वृद्धिले माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको भट्टराईले बताए ।