काठमाडौं । राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले आफ्नो पक्षमा समर्थन जुटाउने पहल थालेका छन् ।
कांग्रेस, माओवादीसहित आठ दलको समर्थनमा उम्मेदवारी दिएका पौडेलले मोर्चा बाहिरका दलसँग समर्थन माग्दै भेटवार्ता थालेका हुन् । उनले हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेट गरेका छन् । तर राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।
राष्ट्रपतिका लागि आउँदो २५ गते मतदान हुँदैछ । कांग्रेससहित आठ दलका तर्फबाट उम्मेदवार बनेका पौडेललाई नेकपा माओवादीसँगै एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।
त्यस्तै, राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) पनि आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ। एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीका अनुसार कांग्रेस बाहेक संसदमा रहेका सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पत्र पठाइएको हो। राजनीतिक दलहरु र स्वतन्त्र सांसद गरी १७ वटा पत्र पठाएको अधिकारीले जानकारी दिए।
संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य र उपयुक्त उम्मेदवार रहेको जिकीर एमाले अध्यक्ष केपी ओलीले पठाएको पत्रमा उल्लेख छ। एमालेको पत्रको सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) ले भने संवादको ढोका खुलेको जनाएको छ।