काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली सुन्दा अहिलेका प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नभएर ओली आफैँ भएको निष्कर्ष निकालेको बताएका छन् ।
आइतबार संसद्मा बोल्दै अध्यक्ष केसीेले संसदमा अध्यक्ष ओलीले बोलेको सबै कुरा सुन्दा अहिलेको प्रधानमन्त्री प्रचण्ड नभएर ओली नै भएको निष्कर्षमा पुगेको बताएका हुन् ।
‘हामी यहाँ पहिलेदेखि नै संसदमा बसेका छौँ । उहाँसँगै सरकारमा पनि बसेका छौँ । उहाँले जे जति आकाश पताल जोडेर कुरा गर्नुभयो त्यसको मुख्य कारण भनेको के हो भने– नेपाली कांग्रेसल राष्ट्रपतिमा दाबी गरेको हुनाले सातो पुत्लो उडेको छ । मुख्य कुरा त्यहिँ हो । अरु होइन । उहाँले प्रवासीहरुको विषयमा गोहीको आँशु चुहाउनुभयो,’ उनले भने, ‘राष्ट्रिय मोर्चाले लामो समयदेखि प्रवासीहरुलाई मताधिकार दिनुपर्छ भनेर लड्दै आएको छ । आज त उहाँले गोहीको आँशु चुहाउनुभयो । उहाँको बोलीबाट मैले के निष्कर्ष निकालेको छु भने अहिलेको माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइनन् उहाँ नै हो ।’
उनले राष्ट्रपतिमा सहमतिमा जानुपर्छ भनेपछि अध्यक्ष ओली आतंकित भएको पनि बताए । उनका अनुसार यसमा आपति हुनुपर्ने कारण के छ ?
उनले भने, ‘उहाँलाई चिन्ता के हो भने पुष्पकमलजी सहमतिमा जानुपर्छ भनेर कुरा राख्नुभएको छ । २६ गतेदेखि नै उहाँ आतंकित हुनुभएको छ । किन आतंकित हुन परो ? हामीले देखेका छौँ, भोगेका छौँ । सर्वाेच्चको कुरा यत्तिका गर्नुभयो, सर्वाेच्चले संसद भत्काएर कुरा बेठकी छ भन्दा उहाँले पालना गर्नुभयो ?’
साथै, अध्यक्ष केसीले पूर्वप्रधानमन्त्रीहरुले जति बोले पनि पाउने सत्याइनुपर्ने पनि बताए । उनले भने, ‘बोल्ने बेला मेरा दुई शब्द यहीँ टुंग्याउँछु भन्ने बोल्नेबेला ३९ मिनेट बोल्ने । अब उहाँहरुलाई पनि बोल्ने निश्चित समय तोकिनुपर्छ ।’