यतिखेर नेपालको राजनीति मूलतः सत्ता केन्द्रित परिवेशमा रुमलिएको छ । पुष १० गते एकाएक पूरानो समिकरण भत्किएर बनेको नयाँ सात दलीय गठबन्धनको नेतृत्व गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल आफै अहिले धरमाराएको जस्तो देखिएको छ । हुन त उनले पौष २६ गते आफूसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि पूरानो साझेदार दल नेपाली कांग्रेसको समेत समर्थन बटुल्न सक्षम भएका थिए ।
कतिपयले यसलाई राजनीतिक रुपमा भोलि हुनसक्ने दुर्घटनाको पूर्वानुमान प्रचण्डले त्यतिखेर नै गरिसकेका थिए । अन्तिम घडीमा तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी हुँदा आफू आजित सत्ता फुटाएर जाँदाको पीडा बाध्य भएर बिर्सनु पर्ने अवस्थामा एमाले अध्यक्ष केपी ओलीको शरणमा जानुपर्दा प्रचण्डले आफ्नो भावभंगी खुशी देखिएतापनि भित्री मनमा प्रसस्त शंका उपशंका थियो भन्न सकिन्थ्यो । त्यतिखेर देखि नै विभिन्न कोणबाट टिकाटिप्पणीहरु नभएका होइनन् प्रचण्ड नेतृत्वको सरकारको बिषयलाई लिएर ।
त्यसो त प्रचण्डले ओली नेतृत्वको गठबन्धनसँग जसरी साझेदारी गरे, यो उनको लागि ताउबाट उछिटिएर भुंग्रोमा भन्ने नेपाली उखान जस्तै त भएको होइन भन्न्ने आशंका गर्नेहरु पनि थुप्रै देखिन्छन् । यो प्रसङ्गलाई अहिले प्रचण्ड नेतृत्वको सरकारका पछिल्लो गतिविधिले झनै पुष्टी गर्न थालेको देखिन्छ । खासगरी प्रचण्ड नेतृत्वको सरकार अहिले चारैतिरबाट घेराबन्दीमा परेको देखिन्छ । त्यसको मूल पात्र प्रचण्ड भने महाभारतमा रचिएको चक्रब्यूहमा परेको जस्तो देखिन्छ । हुन उनको मन्त्रीमण्डलबाट बैधानिक रुपमा बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सामाजिक सञ्जालमा आफू अभिमन्यू नभएको तर्क सार्वजनिक गरेर जुन चर्चा बटुलिरहेका छन् । अहिलेको परिदृश्यमा रवि भन्दा बेसी स्वयं प्रचण्ड चक्रब्यूहमा परेका स्पष्ट देखिन्छ ।
उनको निम्ति पहिलो संकट गत शुक्रबार उनकै क्याविनेटमा उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारीमा रहेका रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा विपक्षीमा फैसला आएपछि नैतिकताको संकट देखिनु । जब आफ्नै क्याविनेटका मन्त्रीका बारेमा कानुनी रुपमा गम्भीर प्रश्न उठिसकेपश्चात उनले राजिनामा त दिए । तर उक्त घटकले फेरि सोही मन्त्रालयमा दाबी प्रस्तुत गरेपश्चात भने ठूलै धर्मसंकटमा परेका छन् प्रचण्ड ।
खासगरी प्रचण्ड नेतृत्वको सरकार अहिले चारैतिरबाट घेराबन्दीमा परेको देखिन्छ । त्यसको मूल पात्र प्रचण्ड भने महाभारतमा रचिएको चक्रब्यूहमा परेको जस्तो देखिन्छ । हुन उनको मन्त्रीमण्डलबाट बैधानिक रुपमा बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सामाजिक सञ्जालमा आफू अभिमन्यू नभएको तर्क सार्वजनिक गरेर जुन चर्चा बटुलिरहेका छन् । अहिलेको परिदृश्यमा रवि भन्दा बेसी स्वयं प्रचण्ड चक्रब्यूहमा परेका स्पष्ट देखिन्छ ।
पार्टीभित्र र बाहिरसमेत गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनु उचित नहुने बहस हुँदै गर्दा स्वयं प्रचण्ड पनि अहिले आएर यो बिषयमा अडिग रहेका छन् । तर जसरी पनि गृहमन्त्रालय लिएरै छाड्ने यदि नपाए गठबन्धन तोड्न समेत पछि नपर्ने चेतावनीपूर्ण अल्टिमेटम राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक रुपमै निर्णय गरेर दिइसकेको छ । यो परिस्थितिलाई राम्ररी बुझेका स्वयं प्रचण्ड राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य अब लामो नहुनेमा स्पष्ट हुन थालेका छन् ।
प्रचण्डका लागि दोश्रो संकट भनेको आफूलाई प्रधानमन्त्री बनाउन नेतृत्वदायी भूमिका खेलेको नेकपा एमालेका तर्फबाट । हतार हतार सरकारको नेतृत्व गर्नका लागि प्रचण्डले एमालेसँग गरेका सहमति अनुसार सभामुख तथा राष्ट्रपति निर्वाचनमा एमालेलाई सघाउने भन्ने बिषय जसरी सार्वजनिक भएको थियो । सभामुख चयन प्रक्रिया सहमति अनुसार नै भएपनि राष्ट्रपति निर्वाचनको सन्दर्भमा भने माओवादीको फरक खालको धारणा सार्वजनिक भएको छ । यसमा प्रचण्डले आफ्नो पार्टीको आधिकारिक बैठकबाट राष्ट्रिय सहमतिबाट नै राष्ट्रपति निर्वाचन गर्ने निर्णयमा पुग्दा एमाले प्रचण्डबाट झस्किएको छ ।
प्रचण्डले पुष २६ गते आफूलाई समर्थन गर्ने नेपाली कांग्रेसको समेत समर्थनमा राष्ट्रपनि चयन गर्ने मनस्थिति बनाएता पनि त्यो उनको निम्ति त्यति सहज भने देखिँदैन । किनकी एमाले यही गठबन्धनको बुइँ चढेर जुनसुकै हालतमा आफूले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहन्छ । प्रचण्डका निम्ति यो अर्काे चुनौतीपूर्ण अवस्था विद्यमान रहेको देखिन्छ । यो अवस्थामा नैतिक रुपमा एमालेलाई धोका दिएर गठबन्धन धरापमा पार्ने कि, यसलाई निरन्तरता दिने भन्नेमा प्रचण्डलाई संकट कायमै छ ।
प्रचण्डका लागि तेश्रो संकट भनेको यदि यो गठबन्धन भत्काएर कांग्रेसको शरणमा प्रचण्ड गए भने त्यसले सिर्जना गर्ने अविश्वासको पहाड अझै ठूलो हुनेछ । जसरी अहिलेको समिकरण बनाउन प्रचण्डले पुरानो समिकरण एकाएक तोडेका थिए । सोही समिकरण निर्माण हुन पनि त्यति सहज देखिँदैन । किनकी, राष्ट्रपति निर्वाचनमा यदि प्रचण्डले अहिलेको समिकरणको लिक छाडेभने उनी न यता न उताका हुन सक्ने प्रवल सम्भावना पनि देखिन्छ । त्यतिञ्जेल प्रचण्डप्रति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा समेत अविश्वासको ग्राफ झनै बढ्ने स्पष्ट देखिन्छ ।
अहिले प्रचण्डका सामु कांग्रेस तथा एमालेले फालेका कार्ड कुनैपनि हालतमा प्रचण्डका निम्ति दीर्घकालिन हित हुने खालका छैनन् । तत्कालका लागि राष्ट्रपनि निर्वाचनमा दुवै दलको रणनीतिक चातुर्यता मात्र प्रष्ट देखिन्छ । एमाले जुनसुकै हालतमा राष्ट्रपति निर्वाचनसम्म यो गठबन्धनलाई टिकाइरहन चाहन्छ भने कांग्रेस यो वा त्यो बाहनामा राष्ट्रपति निर्वाचन पूर्व नै यो गठबन्धन जसरी पनि भत्काउन चाहन्छ । यसको दोहोरो चेपुवामा प्रचण्ड नराम्ररी धसिएका छन् । यसलाई प्रचण्ड स्वयंले पनि नबुझेका भने होइनन् । यद्यपि, राजनीति भुँमरी अहिले यस्तो बनिदिएको छ कि प्रचण्डका निम्ति त्यसबाट उम्किन त्यति सहज भने छँदै छैन ।
अब प्रचण्डका निम्ति अर्काे बाटो भनेको अहिले भएका दलहरु मध्ये बामपन्थी विचारधारा भएका दलहरुलाई एकतृत गर्नुपर्ने अवस्था । अहिलेका निर्वाचनबाट बामपन्थी दलहरुलाई ध्रुवीकृत गरेर जाँदा केही हदसम्म उनको लागि सहज हुन सक्दछ । तर नेपालका बामपन्थीहरुको एकिकरण भनेको पानीको फोका जस्तो हुँदै आएको इतिहासले प्रमाणित गर्दैै आएका छन् । पटक–पटक जुट्ने अनि फुट्ने प्रबृत्तिका कारण नेपालका बामपन्थी दलहरु एउटै मोर्चामा आउने झिनो आशा मात्र देखिन्छ ।
त्यसो भए अबको बाटो भनेको के हो त ? के प्रचण्डले एमाले नभए कांग्रेस, कांग्रेस नभए एमालेको साथ लिएरै आगामी दिनको राजनीतिक यात्रा तय गर्नुपर्ने अवस्था हो त ? यो झन् संकटपूर्ण अवस्थामा गुज्रिने बाटो हुन सक्दछ । हुन त निर्वाचण परिणामलाई आधार मान्ने हो भने स्वभाविक रुपमा नतिजा यस्तै नै हुने स्पष्ट देखिन्छ । स्पष्ट बहुमत प्राप्त नभएको अहिलेको परिवेशमा भोलिका दिनमा सरकारको नेतृत्व अस्थिर ढंगले नै अगाडि बढ्ने नै हो । त्यसलाई यति ठूलो ढंगले मथिंगललाई खलबलाइरहनु पर्दैन ।
जे होस्, अबका केही दिन राजनीतिक रुपमा यसै भन्न नसकिएता पनि संकेत भने त्यति शुभ पक्कै छैन । तै पनि हामी कामना गरौं, सबै राम्रै होस् ।
- थापा क्यापिटल दैनिकका प्रधान सम्पादक हुन् ।