भदौ १६ गतेदेखि हुने नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिजो नियमित र विभिन्न देशबाट हुने चार्टर्ड उडानको तालिका बनाएर यसअनुसार मिलाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।
भदौ १७ अर्थात सेम्टेम्बर २ देखि ३० सम्मको नियमित उडान तालिका सार्वजनिक भएको छ । नियमिततर्फ विभिन्न देशबाट सेम्टेम्बर २ देखि ३० सम्म ६० वटा उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुने छन् ।
मन्त्रालयले नियमित उडानतर्फ मलेसियाको मालिन्दो एयर तथा मलेसियन एयरलायन्स, टर्किको टर्किस एयरलायन्स, हङकङको क्याथे ड्रयागन, कोरियाको कोरियन एयर, चीनको चाइना साउर्दन, एयर चाइना, साउदी अरबको एयर अरेबिया, कतारको कतार एयरवेज र दुबईको फ्लाई दुबई गरि १० वटा वायुसेवालाई उनीहरुका गन्तव्यबाट नियमित उडान भर्न अनुमति दिएको छ ।
त्यस्तै, स्वदेशी वायुसेवातर्फ नेपाल वायुसेवा निगमलाई जापानको नारिता, दुबई, मलेसिया र हङकङ उडानको अनुमति दिएको छ । अर्को हिमालय एयरलायन्सलाई चीनको छोङकुइन, मलेसिया र आबुदाबीमा उडानको अनुमति दिइएको छ ।
यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेको छ ।