मंगलबार संसद भवन अगाडि युवा उद्यमी प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे । उनको उपचारको क्रममा बुधबार विहान दुःखद् निधन भयो । सामाजिक सञ्जालमा एकाएक यो घटना यतिबिध्न छिटो भाइरल हुनपुग्यो कि, यसले नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थितिमाथि नै विभिन्न प्रश्नहरु पनि उब्जाइदिएको छ ।
खासगरी यो घटनाले शासन सत्तामा बसेकाहरुले मुलुकको केन्द्रमा सार्वजनिक ठाउँमै एउटा नागरिकले आफ्नो शरीरलाई जलाइरहँदा पनि उसको सुरक्षा दिन सक्दैनन् भन्ने नराम्रो सन्देश पनि दिएको छ । उनीहरुमाथि नैतिक प्रश्न त उब्जिएको छ नै, सँगै नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमाथिको ठाडो कटाक्ष पनि गरेको छ । कतिपयले यो बिषयलाई समान्यीकरण गर्न खोजेको पनि देखियो ।
सन् २०१० को अन्त्यतिर, ट्युनिसियाका सडक व्यापारी मोहम्मद बौआजिजीले नगर प्रशासन र राज्यसत्ताको चरम दमन र अपमान सहन नसकेर राजधानीमा आत्मदाह गरेको घटनाको झिल्को अरब क्रान्तिको रुपमा परिणत भएको थियो । सन् २०१० को अन्त्यतिर ट्यूनिसियाका सडक व्यापारी मोहम्मद बौआजीजीले स्थानीय सरकारको व्यवहारले आजित भएर आत्मदाह गरेका थिए ।
खासगरी राजनीतिक दलका नेता कार्यकर्ताहरुले यो बिषयलाई कम आंकलन गर्न खोजेको कतिपय सन्दर्भहरु सार्वजनिक भएका छन् भने कतिपय अवस्थामा यो बिषय एउटा व्यक्तिको आत्मदाहसँग मात्र जोडिनु हुन्न भन्ने पनि मत पाइन्छ । तर जे जस्तो परिस्थिति भएपनि प्रेम आचार्यले जसरी आफ्नो शरीरमाथि दाह गरे । यसलाई सामा्न्य रुपमा मात्र बुझ्न खोज्नु गम्भीर त्रुटी हुन सक्दछ ।
यहाँ छेउ हामीले भुल्न नहुने कुरा भनेको के हो भने, सन् २०१० को अन्त्यतिर, ट्युनिसियाका सडक व्यापारी मोहम्मद बौआजिजीले नगर प्रशासन र राज्यसत्ताको चरम दमन र अपमान सहन नसकेर राजधानीमा आत्मदाह गरेको घटनाको झिल्को अरब क्रान्तिको रुपमा परिणत भएको थियो । सन् २०१० को अन्त्यतिर ट्यूनिसियाका सडक व्यापारी मोहम्मद बौआजीजीले स्थानीय सरकारको व्यवहारले आजित भएर आत्मदाह गरेका थिए । २६ वर्षीय बौआजीजीको आत्मदाहले राज्यविरुद्ध आन्दोलनको यस्तो उभार ल्यायो कि करिब २४ वर्षदेखि सत्तामा एकछत्र राज गरेका तत्कालीन राष्ट्रपति जीने अल अबदीन बीन अली सन् २०११ को जनवरीमै देश छोडेर भाग्न बाध्य भएका थिए ।
सोही वर्षको अक्टोबरमा ट्यूनिसियामा निर्वाचन भयो र सन् २०१४ मा नयाँ प्रजातान्त्रिक संविधान जारी भयो । त्यस पछि सन् २०१९ को मध्यमा नियमित निर्वाचनको माध्यमबाट नयाँ सरकारलाई सत्ता हस्तान्तरण भएको छ । ट्यूनिसियाको सर्वसत्तावादविरुद्धको उक्त आन्दोलनलाई ‘जस्मिन रिभोलुसन (क्रान्ति)’ पनि भनिन्छ । ट्यूनिसियाबाट सुरु भएको अरब क्रान्ति इजिप्ट, यमन, बहराइन, लिबिया, सिरीया, हुँदै अरु देशहरुमा पनि पुगिसेकेको छ । अरब राज्यहरुमा जनताबाट निर्वाचित तर सत्तामा गएर तानाशाही बनेका लिबियाका शासक महोमम्द गद्दाफीको तत्कालीन समयमै पतन भइसकेको छ । नेपालमा पनि मंगलबार प्रेम आचार्यले गरेको आत्मदाहको घटनालाई कतिपयले अरब क्रान्तिका नायक मानिएका मोहम्मद बौआजिजीको घटनासँग पनि तुलना गर्न थालेका छन् ।
प्रेम आचार्यले आत्मदाह गर्नपूर्व करिब ६ हजार बढी शब्दमा सामाजिक सञ्जालमा सन्देश सम्प्रेषण गरेका थिए । उनले खासगरी आफूले गरेको कर्मबाट केही उपलब्धी हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा, रोजगारीका लागि विदेश जाँदा धेरै समस्या भोगेको भन्दै निराशा व्यक्त गरेका छन् । उनको आत्मदाह नोटमा भाटभटेनी, बिगमार्ट, उपेन्द्र महतो र डा. समता नेपालको ग्रामो उद्योग लगायतले आफूलाई ठगेको र त्यहाँबाट लुटिएको आक्षेप पनि लगाएका छन् । चारैतिरबाट असफल भएपछि आत्महत्या रोजेको उनले बताएका छन् । उनको यो नोटमा नेपाली समाजभित्रका विकृति, विसंगति अनि राज्यका संरचनाको बस्तुस्थितिको नाङ्गो चित्रण गरिदिएको छ । अहिले प्रेम आचार्यका बारेमा सामाजिक सञ्जालका भित्ताहरु भरिभराउ देखिन्छन् । त्यहाँ अभिव्यक्त भएका आक्रोसहरु मूलतः मुलुकको बेथिति, विसंगति र विकृतिका कारण राजनीतिक मूल नेतृत्वमा बढी केन्द्रित देखिन्छन् ।
यति लामो समयदेखिको राजनीतिक परिवर्तनबाट जनताले गरेका अपेक्षाहरुमा खासै बद्लाव आउन नसकेको प्रतिबिम्ब पनि प्रेम आचार्यको घटनाले छताछुल्ल बनाइदिएको छ । कोरोनाले थिलथिलो बनाएको नेपालको अर्थतन्त्र अझै तङ्ग्रिन सकेको छैन । नजिकैको मुलुक श्रीलंकाको आर्थिक जर्जरताको स्थितिको साक्षी रहेका हामीलाई अझैपनि त्यो त्रासको भयले छुन सकेको छैन । अनि भित्र खोक्रो भएपनि बाहिर भने त्यो अवस्था छैन भनी जनतामा भ्रम बाड्न छोडिएको छैन । जुन कुराको प्रत्यक्ष विम्ब प्रेम अचार्य हुन कि होइनन् ? उद्यम र व्यवसाय गर्नेहरुमा चरम निराशा छाएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले लगानी गरेका व्यवसाय डुबुन कि उत्रिउन, सरकारलाई त्यसको कुनै चासो छैन । यस्ता संस्थाका नियामक निकाय राष्ट्र बैंक नीति र नियम बनाएर त्यसलाई लाद्न उद्दत रहेको छ । अनि बैंक तथा वित्तिय संस्थाहरुलाई आफूले लगानी गरेका व्यवसायीबाट जसरी पनि बढी भन्दा बढी ब्याज असुल्न प्रेरित गरिरहेको छ । यसबीचमा पटक–पटक सरकारको नेतृत्व फेरिएको छ । तर जनताको दुःख भने फेरिएका छैनन् । उनीहरुको अवस्थामा कुनै पनि बद्लाव आउन सकेन । त्यसैले त पछिल्लो समयमा सामाजिक सञ्जालमा समेत नेतृत्वप्रतिको वितृष्णा जताततै छताछुल्ल देखिन्छ ।
प्रेम आचार्यको घटनालाई सामान्य आत्महत्याको कोटीमा राख्ने हो भने यो बिषय यही सकिन्छ । तर सवाल उनको आत्महत्याको मात्र होइन, उनले प्रतिनिधित्व गर्ने लाखौं युवा जनशक्ति जसले इलम,उद्योग र व्यवसाय गरेर परिवार पाल्छु भन्नु गलत हो र ? त्यतिमात्र होइन, प्रेम जस्ता युवाहरुले कुनैपनि व्यवसाय गरेर आफ्नो सपना पूरा गर्छु अनि राज्यलाई कर पनि तिर्छु भन्नु मुर्खता मात्र हो र ? कतिपय युवाहरुले नेपालमै केही गरौं भनरे हार नमानीकन विभिन्न विकल्पमा अभ्यास नगरेका पनि होइनन् । जब यी अभ्यासहरुलाई राज्यले वेवास्ता मात्र गर्दैन, आफू स्वयं भ्रष्टाचारको आहालमा चुर्लुम्ब डुब्छ अनि विचौलिया र दलालहरुको चुंगुलमा फस्छ, परिस्थिति कहिलेपनि अनुकूल बन्न सक्दैन ।
राज्यका संरचनाहरु कुनैपनि बहानामा नीतिसंगत रुपमा चलेका देखिँदैनन् । त्यी संरचनाहरुमा जनताले आफ्नोपनको अनुभूति कहिल्यै गर्न पाएनन् । बरु जुनसुकै क्षेत्रमा व्यवधान, ढिलासुस्ती अनि अनियमितताले गर्दा केही गर्छु भन्नेहरुका लागि निराशा सिर्जना गरिदिएको छ ।
त्यसो त पछिल्लो निर्वाचन परिणामले केही हदसम्म ती प्रबृत्तिका विरुद्धमा आक्रोस व्यक्त गरेको देखिन्छ । मूलतः शहरका शिक्षित र सचेत मतदाताहरुले समाजमा मूल जड निम्त्याउन कारक रहेका पुरातन राजनीतिक दलका नेतृत्वको विकल्पमा नयाँ उर्जाशिल शक्तिलाई नेतृत्वमा ल्याउने काम भने गरेका छन् । तर त्यो शक्तिले पनि आफूलाई पूरानै जडताले नराम्ररी बाँध्न खोजेको अभिव्यक्ति दिएका छन् । उनी आफू शक्तिशाली नेतृत्वमा रहँदै गर्दा त उनको निरीह अभिव्यक्ति आउन थालेको छ भने प्रेम आचार्यले त यो जडताको यातना कति सहनु पु¥यो होला सहजै अनुमान लगाउन सकिन्छ ।
मुलुकमा पटक–पटक आहुती दिएर ल्याइएको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको झण्डै ३ दशक लामो अवधिमा हामीले यीनै जडतालाई मात्र बल दिएका थियौं त ? जनताले अनुभूत गर्ने गरी राज्य व्यवस्थामा सबै नागरिकले अपनत्व लिने गरी व्यवस्थित बनाउन नसकेका नै हौ त ? यदि मुलुकको हितमा छैन भन्ने त्यो जडतालाई हामीले किन निमिट्यान्न हुनेगरी उखेल्न सकिरहेका छैनौ ? अब पनि बेला भएको छैन र ?
- थापा क्यापिटल दैनिकका प्रधान सम्पादक हुन् ।