ऋण जीवन लक्ष्य प्राप्तिको साधन हो । ऋण लक्ष्य प्राप्तिको लागि सहयोगी महसुस हुनुपर्छ । तर अहिले ऋण तनाव र आत्महत्याको कारक भइरहेको छ । यसलाइ बेलैमा सम्बोधन नगरे आत्महत्या माहामारीको रुपमा बढ्ने खतरा बढेको छ । यसका नियमक निकाय राष्ट्र बैक तथा कार्यान्वयन गर्ने बैँकहरु तथा सहकारीहरु भने नाफामुखी भइ दिँदा पीडित झन् पीडित भएर आर्थिकजन्य कारणले आत्महत्या गर्नेको सख्या बृद्धि भएको हो । यसलाई बेलैमा जोगाउने हो भने तुरुन्त खराब ऋणीमा सूचिकृतहरुको नाम प्रकाशन गर्न, अनावश्यक तनाव दिन र बेइज्जत गर्न रोकेर उचित वैयक्तिक समस्या पहिचान र उपयुक्त समस्या समाधानको लागि पहल कदम लिनु पर्दछ ।
अहिलेको समयमा आम मानिस देखि उद्योगपतिसम्म सबैलाई आफ्नो सपना साकार पार्न तथा अतिरिक्त काम गर्न ऋणले ठूलो सहयोग पुर्याउँदै आएको छ । बैँक तथा सहकारीहरुले पनि ऋणीलाई लगानी गरेर फाइदा कमाएका छन् ।
नेपालमा वर्तमान सन्दर्भमा सहकारी तथा बैँकहरुले सदस्य बनाइ विभिन्न व्यवसाय गर्न सहयोग गरेका छन् । यसले अनौपचारिक, पराम्परागत पेशा र आय आर्जनलाई टेवा समेत दिएको छ । घर व्यवहार धान्न र विशेष काम गर्न मिटर व्याज लिनबाट केही हदसम्म जोगाएको पनि छ । अबको समयमा सहकारी तथा वित्तीय संस्थाहरुले आफूलाई साँच्चीकै सदस्यको हित चाहने हो भने सरोकारवाला पक्षहरु, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी मिटर व्याज लिनुपर्ने अवस्थाबाट मुक्त गर्नुपर्छ । हात मुख जोड्न, साधारण जीवन जीउन, साधारण उपचार गर्न, ऋण तिर्नका लागि अर्को ऋण लिनुपर्ने अवस्थाबाट यथासक्य चाँडो मुक्त गर्नुपर्छ । अनिमात्र वित्तिय व्यवस्था, सहकारी आन्दोलन, गरिवी निवारण, आर्थिक बृद्धि र प्रजातान्त्रिक समाजवाद सफल हुन सक्दछ ।
नेपाल प्रहरीको विभिन्न प्रतिवेदन, विज्ञहरुको अनुसन्धान तथा सामाजिक घटनाक्रमहरुलाई केलाउँदा अहिलेको महङ्गो जीवन शैली, अस्वस्थ प्रतिस्पर्धा र गलत आनीबानीको कारणले मानिसहरुलाई जीउन, व्यवसाय टिकाउन, स्थापित हुन, समाजमा इज्जत जोगाइ राख्न धौ–धौ परिरहेको छ । फलत घरका मुली देखि अन्य सदस्यहरु समेत दबाबमा आएर जस्तोसुकै महङ्खो ऋण लिन र व्यवहार चलाउन बाध्य भएका छन् । एकातिर आवश्यक सीप नहुन, काम÷रोजगारी नहुनु, बेच्न योग्य सम्पत्ति नहुनु, खर्च बढिरहनु अर्कोतर्फ आफू बसेको समाज तथा राष्ट्रमा समस्याको उचित सुनुवाइ तथा सम्बोधन नहुनु आदिले निम्न वर्गका मानिसहरु आथर््िाक समस्याजन्य मनोसामाजिक पीडाहरुबाट गुज्रिरहेको पाइन्छ । अहिले बढिरहेको विदेश पलायन, पारिवारिक विखण्डन, पारिवारिक पीडा, पारिवारिक नरसंहार, आत्महत्या, अन्य मानिसहरुको हत्या यसैको उपज हो । अहिलेको जीवन सरल जिउन सहयोग गर्ने आधार भनेको सहज दैनिकीमा साथ, उत्पादनशील तालिम, बजारमा पहुँच, उत्पादनमुखी सरल र सस्तो ऋण प्रवाह नै हो ।
आम मानिसले ऋणलाई नकारात्मक रुपमा लिए पनि यसका फाइदाहरु पनि छन् ।
ऋणका फाइदा
- उद्योग व्यवसाय चलाउन हौसला, बल प्रदान गर्ने
- आफ्नो सोच तथा बैँकको पैसा सापटी मिलान गरि उद्योगपति, लगानीकर्ता हुन सकिने
- सीप र श्रम भएकाहरुलाई रोजगारी दिन सकिने
- आपद् विपद्मा गर्जो टार्न सकिने
- आफ्ना सन्तानलाई उच्च शिक्षा हासिल गर्न लगानी गर्न सकिने
- ऋण तिर्ने आधारहरु
- कुशल व्यवसाय सञ्चालन /उचित नाफा
- नियमित तलब /आम्दानी
खराब ऋणी हुनुपर्ने कारणहरु
- महामारी, भुइँचालो
- उद्योग व्यवसाय एकाएक बन्द हुनु
- लगातार घाटामा जानु
- आफ्नो काम छुट्नु र नियमित तलबमा अवरोध
- एक्कासी विरामी भइ उपचार गर्दागर्दै टाँट पल्टिनु
- ऋणका कारण हत्या तथा आत्महत्या हुने कारणहरु
- राष्ट्र बैँकले खतरा तथा खराब श्रेणीमा परेका ऋणी सदस्यको मर्का नबुझ्नु र जबरजस्त गर्नु
- बैँक तथा सहकारीले आफ्ना ऋणी सदस्यहरुलाई तनावपूर्ण दबाब दिनु
- घर परिवारमा झैझगडा हुनु र समाधानको उपाय ननिस्कनु
- व्यक्ति विशेषलाई दोष थोपर्नु र चाहिनेभन्दा बढी जिम्मेवारी लिनु
समाधान कसरी गर्ने त ?
- मानव जीवन अमूल्य छ । हामीले आफ्नो जीवन प्रगति गर्न÷समाधान गर्न ऋण लिएका हौँ । ऋण सम्भव भएसम्म नियमित रुपमा तिर्दै जानुपर्दछ ।
- जोखिमको समयमा ऋणी र बैँक/सहकारीको निरन्तर सम्बाद हुनुपर्छ । ऋण तिर्न सहज उपायहरुको खोजी गर्नुपर्छ । सकेसम्म जरिवाना छुट र हौसला प्रदान गर्नुपर्दछ ।
- बैक तथा सहकारी संस्थाहरुले आफूलाई जोगाउन विपद् विज्ञ नियुक्ति गरेर राखेका हुन्छन् । ती सुविधाहरु अप्ठ्यारोमा परेका, खतराका सुचीमा रहेका आफ्ना ग्राहक÷सदस्यहरु सम्म पुर्याउन सक्नु पर्दछ ।
- सहकारी बैँक गरिव, निम्न वर्ग र सिमान्तकृत समुदायका लागि आँगनको बैँक हुनाले जोखिममा रहेकाहरुसँग झन् बढी आपसी समाधानमुखी छलफल गर्नुपर्छ । आम्दानी र अवसर नभएको समयमा उनीहरुलाई थोरै रकमले पनि हतास बनाउन सक्दछ । अतः सहकारी कर्मचारीहरुले वित्तीय परामर्शदाता र सरोकारवालाको मलमपट्टीको भूमिका समेत निभाउन सक्नुपर्दछ ।
- सहकारीहरुले खराव कर्जा भएकाहरुलाई मनोवैज्ञानिक परामर्श प्रदान गर्न सक्दछन् र तनाव व्यवस्थापनका सीप सिकाउन सक्दछन् । यसले उनीहरुमा आशाको दियो जाग्रित गर्न सक्दछ ।
- स्थानीय सरकार तथा विकास साझेदार संस्थाहरुले काम व्यवसाय तथा बजारको प्रबर्धन गर्नुपर्छ ।
- खराव ऋणीहरुको समस्या बुझी समय सिमा बढाउन सहयोग गर्ने, तनावपूर्ण अवस्थाबाट जोगाउने र जीवनको सम्भावना बढाउने ।
- कुनै तरिका अपनाएर भएपनि आत्महत्या हुनसक्ने अवस्थाबाट व्यक्ति तथा परिवारलाई सरोकारवालाहरुले जोगाउने ।
मनोविद् घिमिरे सडक आश्रित मानव मुक्त अभियान नेपाल (सम्मान)का अध्यक्ष हुन् ।