काठमाडौं । लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सुनसरीमा जारी प्रतियोगितामा लुम्बिनीले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गरेको हो ।
१४८ रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको कर्णालीले १८.१ ओभरमा सबै विकेटको क्षतिमा ४९ रन मात्रै बनाउन सक्यो । कर्णालीका दुई ब्याटरले दोहोरो अंकमा रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।
यामुना थारुले १३ र किरण कुँवरले १० रन बनाए । त्यस्तै, कप्तान विना थापा र स्वेता सुवेदीले समान ४–४ रन बनाए । कर्णालीका सात खेलाडी शून्यमै आउट भए ।
बलिङतर्फ लुम्बिनीका मधु डिसी र कृतिका मरासिनीले समान ३–३ विकेट लिदा सुस्मिता भुसालले दुई विकेट लिइन् । इटहरीको जनता पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १४७ रन बनाएको थियो ।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले ३३, सरस्वती पुनले अविजित ३०, आश्मा पुलामी मगरले १४ र रन्जु श्रेष्ठले १० रन बनाए । बलिङतर्फ कर्णालीका यामुना थारु र विना थापाले समान २–२ विकेट लिए ।
यसअघि आजै भएको खेलमा विभागीय क्लब एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको थियो । शुक्रबार सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रदेश १ र सुदूरपश्चिम प्रदेशले जित निकालेको थियो ।
पहिलो खेलमा प्रदेश १ ले मधेश प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो । त्यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३३ रनले पराजित गरेको थियो ।
पौष २९ गते शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा माघ ७ गतेसम्म सञ्चालन हुनेछ ।