काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका ठूला उद्योगहरूमा लोडसेडिङ गरेको छ । केही दिनदेखि भारतबाट विद्युत् आयातमा समस्या हुँदा उद्योगहरूमा साँझ बिहान लोडसेडिङ भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘अहिले बिहान र बेलुका ठूला उद्योगहरूमा विद्युत् कटौती भएको प्राधिकरणका प्रवक्ता सुरेशप्रसाद भट्टराईले बताए । उनले भने, ‘बिहारबाट हामीले जेनरेटरको विद्युत् ल्याउने गरेका थियौं। उक्त जेनेरेटर अचानक बन्द भएपछि नेपालमा विद्युत् आयात बन्द भएको हो।’
केही दिनदेखि जेनेरेटरमा समस्या आएको भन्दै भारतबाट विद्युत् नेपाल आएको छैन। तर उक्त जेनेरेटरहरु कहिलेसम्म बन्छ भन्ने टुङ्गो नभएको प्राधिकरणको भनाइ छ ।
‘अहिले ठूला उद्योगको बिजुली कटौती भए पनि साना र मझौला उद्योगमा भने यथावत् रूपमा नै बिजुली दिइरहेका छौं,’ उनले भने, ‘पहिले ३ हजारदेखि ३२ सय मेगावाट विद्युत् आयात गर्दै आएका थियौं।’
पछिल्लो समय भारतमा ठूला जेनेरेटरमा इस्यु देखिएको भन्दै विद्युत् निर्यात गर्न बन्द गरेको छ। त्यसैले प्राधिकरणले चर्को मूल्यमा विद्युत् किन्नको लागि टेन्डर हाल्दासम्म पनि विद्युत् नपाएको उनी बताउँछन्। प्राधिकरणले १२ रुपैयाँ प्रतियुनिट विद्युत् किन्नको लागि टेन्डर गर्दा पनि विद्युत् नपाएको भट्टराई बताए ।
‘विद्युत् खरिदको लागि सिलिङ नै १२ रुपैयाँ हो। त्यतिमा किन्छौं भन्दा पनि हामीले पाएका छैनौं। पछिल्लो समय विश्वमा कोइलाहरूको आपूर्ति सहज नहुँदा पनि सहज विद्युत् आपूर्तिमा समस्या देखिएको बुझिन्छ,’ उनले भने।
नेपालमा साढे ८ सय मेगावाट विद्युत् उत्पादन हुने गरे पनि बजारमा माग १८/१९ सय मेगावाटभन्दा धेरै माग रहेको छ। माग अनुसारको विद्युत् नेपालमा उत्पादन नहुने समयमा भारतबाट विद्युत् किनेर नेपालमा वितरण हुँदै आएको थियो।
केही समय अघिसम्म नेपालबाट भारत विद्युत् बिक्री गर्ने गरिएको भए पनि अहिले विद्युत् निर्यात कम गरिएको छ। जाडो महिनामा नेपालमा नै खपत धेरै हुने भएकाले विद्युत् निर्यात नभएको प्राधिकरणको भनाइ छ।