सिन्धुपाल्चोकका जनप्रतिनिधिले बाढीपहिरो पीडित र जोखिममा रहेकालाई तुरुन्तै सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । सदरमुकाम चौतारामा आज सम्पन्न प्राकृतिक विपदका कारण जोखिममा रहेका बस्तीको पहिचान र स्थानान्तरण सम्बन्धी समन्वय बैठकमा सहभागीले बस्ती स्थानान्तरण गर्दा जीविकोपार्जनतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा सिन्धुपाल्चोकमा २४२ बस्ती बाढीपहिरोको जोखिममा रहेको बताइएको छ । पुनर्निर्माण प्राधिकरणका प्राविधिकले गरेको अध्ययनअनुसार यो तथ्याङ्क आएको हो । तथ्याङ्कानुसार भोटेकोशी गाउँपालिकामा ४९ र बलेफीमा १४ तथा बाह्रबीसे नगरपालिकामा २३ र चौतारा साँगाचोकगढी नगरपालिकामा चार बस्ती जोखिममा छन् ।
त्यस्तै हेलम्बुमा ३४, इन्द्रावतीमा १९, जुगलमा ३३, लिसंखुपाखरमा १०, मेलम्चीमा १९, पाँचपोखरी थाङ्पालमा ३२, सुनकोशीमा एक र त्रिपुरामा चार बस्ती जोखिममा रहेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिनुभयो । प्राविधिकले तीमध्ये ७१ बस्ती रेड, ७५ बस्ती एल्लो र ७६ बस्ती ग्रिन जोनमा राखेको उनको भनाइ छ । अतिजोखिममा रहेका जुगल र बाह्रबीसेका केही बस्तीलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । ।
ढकालका अनुसार जुगल गाउँपालिकाका लिदी, नाम्फा र बोल्देलाई तत्काल अस्थायी रुपमा स्थानान्तरण गरिने भएको छ । त्यस्तै बाह्रबीसेमा ६५ परिवार रहेको बस्तीलाई पनि अस्थायी स्थानान्तरण गर्न लागिएको छ ।
पूर्वमन्त्री शेरबहादुर तामाङले तुरुन्त असुरक्षित बस्ती स्थानान्तरण गर्न सरकार र पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्नुभयो । सांसद तामाङले ढिला गर्दा अझै क्षति हुने भएकाले जनताको सुरक्षामा ध्यान दिन अनुरोध गर्नभयो ।
बाढीपहिराको उच्च चपेटामा परेको सिन्धुपाल्चोकमा साउनयता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कैयौँ मानिस घरबारविहीन बनेका छन् ।