नेपालका आधादर्जन फोटोग्राफरले खिचेका फोटोहरु नवौँ चीन दक्षिण एसिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चमा प्रदर्शन गरिएको छ ।
अनिशा न्यौपाने, असीम श्रेष्ठ, पुनम लिम्बू, रूजन रञ्जितकार र सन्नी बरेले नेपालको परम्परा तथा अमूर्त संस्कृति झल्काउँदै खिचेको फोटोहरु प्रदर्शनीमा राखिएको हो ।
यस वर्षको मध्य अगस्टदेखि डिसेम्बरसम्म चल्ने फोटो प्रदर्शनी वैदेशिक मित्रताका लागि चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्त सरकारले आयोजना गरेका हुन् भने दक्षिण एसियाली संघसंस्थाहरूले फोटोको संयोजन गरेका हुन् ।
नेपालका तर्फबाट फोटोको संयोजन गरेको वर्ल्ड कल्चरनेटले हरिवंश किराँतसहित ६ जना फोटोग्राफरका सिर्जना चीन पु¥याएको हो । चिनियाँ जनमैत्री संघ र युन्नान प्रान्तको जनसरकारले संयुक्त रूपमा गरेको यस पटकको फोटो प्रदर्शनीमा चीन र दक्षिण एसियाली मुलुकका ८५ जना फोटोग्राफरले खिचेका १ सय ११ वटा फोटोहरू प्रदर्शनीमा राखिएको छ ।
सो अवसरमा चिनियाँ जनमैत्री संघका प्रमुख लीन सुङ थ्येनले चीन र दक्षिण एसियाली मुलुकबीच हार्दिक मित्रता रहेको बताएका चाइना रेडियो इन्टरनेसनल(सिआरआई)ले जनाएको छ ।
कोरोना महामारीका कारण एकता र सहकार्य आवश्यक परेको अवस्थामा नवौं चीन–दक्षिण एसिया अन्तर्राष्ट्रिय संस्कृति मञ्चले अझै नजिक्याउने उनको भनाई थियो । फोटो प्रदर्शनीमा चीन र दक्षिण एसियाका विभिन्न मुलुकको प्राकृतिक दृश्य, रंगीविरंगी जीवन, रीतिरिवाज झल्किने फोटोहरु प्रदर्शन गरिएको छ ।