काठमाडौंमा उपत्यकामा निषेधाज्ञा सुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् । गए राति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् ।
निषेधाज्ञा सुरु हुनुअघि काठमाडौं उपत्यका प्रवेश गरेर गन्तव्यमा नपुगेका सवारी साधनलाई निषेधाज्ञा सुरु भएपछि प्रहरीले रोकेको हो ।महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अत्यावश्यकबाहेकका अरु सवारी साधनलाई रोकेको जानकारी दिनुभएको छ । नागढुंगामा रोकिएका सवारी साधनले काठमाडौ प्रवेश विन्दुमा जाम थपेको छ ।
लत्ता कपडा, सिमेन्ट, प्लास्टिकलगायतका सामग्री बोकेर आएका ट्रकहरु रोकिएका छन् । यातायात व्यवसायीले भने गन्तव्यमा हिँडेका ट्रक बाटैमा रोकिँदा समस्या भएको बताएका छन् । रातिदेखि जाममा पर्दा र राजमार्गका होटलहरु बन्द हुँदा ट्रकका चालक र सहचालकलाई खानेकुराकै अभाव भएको छ ।
काठमाडौंको प्रशासनले निर्णय गर्दा बिराटनगर, वीरगञ्ज, भैरहवा लगायतका क्षेत्रमा लोड भइसकेका गाडीहरु काठमाडौं आउँदा नागढुंगामा रोक्नु न्यायोचित नहुने नेपाल राष्ट्रिय ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभएको छ ।
उहाँले यसबारे आपूर्ति मन्त्रालयका सचिवलाई जानकारी गराएको र उहाँले गृहसचिवसँग कुरा गरेर समस्या समाधान गर्ने आश्वासन दिएको श्रेष्ठले बताउनुभयो ।