काठमाडौं । बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दैछ । ४ मंसिरमा भएको निर्वाचनपछि पहिलोपटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठक संचालनका लागि अहिले सर्वदलीय बैठक बसिरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाको बैठकमा प्रस्तुत हुने कार्यसूचीको विषयमा छलफल गर्न र बैठकको लागि आवश्यक कार्यसूची तयार गर्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक बसेको हो ।
त्यस्तै, गण्डकी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ प्रदेशसभा सदस्यको शपथपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजेदेखि प्रदेश सभा भवन नदीपुरमा सुरु हुनेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेको छ । गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ ।
त्यस्तै, लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन पनि आज बस्दै छ । दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ ।
पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
त्यस्तै, मधेश प्रदेश सभाको पहिलो अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम पुस १८ गते आज दिउँसो १ बजेका लागि अधिवेशन बोलाइएको प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, कर्णाली प्रदेशसभाको अधिवेशन पनि आजदेखि सुरु हुँदैछ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख तिलक परियारले बैठक आह्वान गरेका छन् । बैठक दिउँसो १ बजे प्रदेशसभा भवन वीरेन्द्रनगरमा सुरु हुने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए ।
उता, सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको हो । प्रदेशको अस्थायी राजधानी धनगढीमै बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।