काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा शानदार लयमा रहेको लुम्बिनी अल स्टार्सले लगातार पाँचौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको १५१ रनको लक्ष्य पछ्याएको काठमाडौंले ८ विकेट गुमाएर ११५ रनमै रोकियो । टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २७ बलमा ३ चौका र १ छक्कासहित ४० रन बनाएका थिए ।
ओपनर लाहिरु मिलान्थाले २५ तथा साड्ली भान चाल्विकले अविजित २१ रनको योगदान गरेका थिए । बलिङमा काठमाडौंका अज्मतुल्लाह ओमरजाइले २ तथा अभिनाश बोहोरा, अनिल खरेल, वसिर अहमद, सुनाम गौतम र एलेक्स ब्लेकले १–१ विकेट लिए ।
जवाफमा ८ विकेट गुमाएर ११५ रनमा रोकिएको काठमाडौंले खराव सुरुवात गरेको थियो । कप्तान ज्ञानेन्द्र मल्लसहित शीर्षक्रमका तीन ब्याटरले रनको खाता खोल्नै सकेनन् । सातौं नम्बरमा ब्याटिङ गरेका अज्मतुल्लाह ओभरजाइले सर्बाधिक ३८ रन बनाउँदा कमलसिंह ऐरी १९ रनमा अविजित रहे ।
बलिङमा लुम्बिनीका हर्मित सिंहले ३ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले ४ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चिए । किशोर महतो, साड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले १–१ विकेट लिए ।
शतप्रतिशत जितसहित पाँच खेलबाट १० अंक जोडेको लुम्बिनी तालिकाको शीर्ष स्थानमा यथावत छ । काठमाडौंको यो चौथो खेलमा दोस्रो हार हो ।