सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको आज बसेको बैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठन गरिएको कार्यदललाई अनुमोदन गरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।
बैठकले कार्यदल गठनको विषयलाई सकारात्मक रुपमा लिँदै अनुमोदन गरेको श्रेष्ठले बताउनुभयो । उहाँले पार्टीमा देखिएको संकट छिटोभन्दा छिटो समाधान गर्ने, पार्टी र सरकारका कामहरु प्रभावकारी रुपमा अघि बढाउने र महाधिवेशनको तयारीमा जाने विषयमा बैठक केन्द्रित रहेको जानकारी दिनुभएको छ ।
त्यसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदनलाई परिमार्जनसहित सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने उहाँको भनाइ छ । साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।
दुई अध्यक्षबीच पटक पटकका छलफलपछि शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएर पार्टीभित्र उत्पन्न समस्या समाधानकाका लागि सुझाव पेश गर्न जिम्मा दिइएको थियो । सो कार्यदलको दुई पटक बैठक समेत बसिसकेको छ । बरिष्ठ नेता नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टीको बैठकबाट कार्यदल गठन गरेको भए त्यसले संस्थागत मान्यता पाउने बताएपछि कार्यदललाई अनुमोदन गर्न आज बैठक बसेको हो ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहनुभएको छ । दुई अध्यक्षबीच मोटाामोटी समझदारी भइसकेको र त्यसैलाई लिखित रुपमा बैठकबाट अनुमोदन गर्ने गरी कार्यदलले मस्यौदा गर्ने नेताहरुले जानकारी दिएका छन् ।
सचिवालय बैठकले महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको समय समेत तोक्ने भएको छ । सो कार्यदलले तयार पारेको सहमतिको मस्यौदा दुई अध्यक्ष हुँदै सचिवालय र स्थायी कमिटीमा छलफल गराइने भएको छ ।