काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सामान्य गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन आज ०.०१ अंकले घटेर बन्द भएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक १८ सय ६७ अंकमा आइपुगेको छ ।
यसक्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९७ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज ३ लाख सेयर किनबेच हुँदा उक्त मूल्यको कारोबार भएको हो ।
बजार सामान्य अंकले घट्दा ७६ वटा कम्पनीको सेयर बढेको छ भने १२४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।
बजारमा सामान्य अंकको गिरावट आउँदा सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत बढेको छ । कम्पनीको मूल्यमा प्रतिकित्ता १०९ रुपैयाँको वृद्धिसँगै सेयर मूल्य प्रतिकित्ता १२ सय ५ रुपैयाँ पुगेको छ ।
यस्तै, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ । यससँगै, कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७१४ रुपैयाँ पुगेको छ ।
यस्तै, आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरैले घटेको छ । यो कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता ७।७० प्रतिशतले घटेर प्रतिकित्ता १५ सय ३० रुपैयाँमा आइपुगेको छ ।
यसैगरी, बलेफी हाइड्रोपावरको सेयर मूल्य साढे ५ प्रतिशतले घटेको छ । यससँगै, यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३२ रुपैयाँमा आइपुगेको छ ।