काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ ।
क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा आयोजना नहुने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।
खेलाडीको श्रम स्वीकृति प्रक्रिया ढिला भएको छ । आवश्यक तयारीहरु पनि सुस्त रहेकाले छलफलमै रहेको उनले बताए । प्रतियोगिता एक दुई दिन सर्न सक्ने उनले बताए ।
यो मितिमा पनि प्रतियोगिता आयोजना हुन नसके सञ्चालन अधिकार पाएको कम्पनीसँग सम्झौता रद्ध गरी क्यान आफैंले प्रतियोगिता आयोजना गर्नेसमेत अध्यक्ष चन्दले बताए ।
६ फ्रेन्चाइज टिमको सहभागितामा हुन लागेको प्रतियोगिता सरेको यो तेस्रोपल्ट हो । क्यानले प्रतियोगिता सञ्चालनका लागि सेभेन थ्री स्पोर्टससँग २०७७ सालमै सम्झौता गरेको थियो ।
यसबीचमा अघिल्लो वर्ष खेलाडी अक्सन भए पनि प्रतियोगिता अनिश्चित हुँदै आएको थियो । नेपाल टी–२० लिगको आयोजना सन्दर्भमा क्यानको सुरुदेखि कै निर्णयहरु विवादित बनिरहेका छन् ।
भारतीय कम्पनीसँग उतैको कानूनअनुसार सम्झौता भएकोमा क्यानकै कार्यसमितिबाट विरोध हुँदै आएको थियो । यो प्रतियोगिता असोज ८ गतेदेखि सुरु हुने भनिएको थियो ।
त्यसका लागि नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट एक महिना अगाडि नै आयोजना गरिएको थियो । सरकारले सुरक्षा दिन नसक्ने बताएको भन्दै प्रतियोगिता सारिएको थियो ।
सारेर मंसिर २५ गतेदेखि प्रतियोगिता मिति निर्धारित गरियो । तर, सहभागी फ्रेन्चाइज टिम काठमाडौं गोर्खाजले अन्तिम समयमा नाम फिर्ता लिएपछि प्रतियोगिता १२ दिनका लागि सारियो ।