काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडान आजबाट थाल्ने भएको छ । कोरोना भाइरसका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले आजदेखि १५ भदौसम्म पाँचौं चरणको चार्टर उद्धार उडान सञ्चालन गर्न लागेको हो ।
यसअघि चैतबाट रोकिएको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान आजबाट खोल्ने निर्णय भएकामा काठमाडौं उपत्यकासहित मुलुकभर कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकार पूर्वनिर्णयबाट पछि हट्दै आगामी १५ भदौसम्म व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णयमा पुगेको थियो ।
सरकारले अबको चार्टर उद्धार उडानमा दैनिक पाँच सय जनालाई स्वदेश फर्काउने रणनीति बनाएको छ । चार्टर उडानका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र अर्को निजी कम्पनी हिमालय एयरलाइन्ससहित अन्य विदेशी वायुसेवा प्रयोग हुनेछन् । सरकारले पुनः थालनी गर्ने पाँचौं चरणको उद्धार उडानबाट कम्तीमा ७ हजार नेपाली स्वेदश फर्किन पाउनेछन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले उद्धार उडान तालिकासमेत बनाइसकेको छ ।
युरोप र अमेरिकामा अलपत्र परेका नेपालीका लागि भने टर्किस एयरलाई अनुमति दिइएको छ । यीबाहेक कतार एयर, फ्लाई दुबई, मालिन्दो एयर, जजिरा एयरवेज, कोरियन एयर, एयर अरेबिया, इतिहाद एयरवेज र सिल्क एयरलाई पनि चार्टर उद्धार उडान अनुमति दिइएको मन्त्रालयले जनाएको छ ।
अनुमति दिइएका गन्तव्यमा दुबईका लागि ८ वटा उडान, दोहाका लागि ७, क्वालालम्पुर ६, दमाम र आबुधाबी पाँच÷पाँच, कुबेत ३, रियाद र सारजाहा दुई–दुई र जेद्दा, जापान, कोरिया र अस्ट्रेलिया एक(एक गरी ४३ वटा उडान रहेका छन् ।
सरकारले यसअघि ३ सय २३ वटा चार्टर उद्धार उडानबाट ५० हजार ६ सय ६२ जना नेपालीलाई स्वदेश फर्काइसकेको छ । अझै लाखौं नेपाली फर्किने प्रतीक्षामा रहेका छन् ।