पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको छ। नेपाल साइक्लिङ संघ, कास्की जिल्ला साइक्लिङ संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा साइकल सिटी पोखराले पनि सहयोग गर्दै छ।
तीन विधामा हुने ५० किलोमिटर दुरीको साइकल दौडको तयारी सकिएको खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा सहभागी हुन कास्की, काठमाडौं, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायत जिल्लाबाट तीन विधामा ६० जनाभन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेका छन् ।
४० वर्षमुनिको महिला–पुरुष र ४० वर्षमाथि गरी तीन विधामा साइकल दौड हुनेछ। पोखरा–२१ को युवा वर्ष आधारभूत विद्यालय कमेरे नजिकैबाट सुरु भई सोही वडाको मट्टिखान, धुवारकोट, बाघखोर, भालुडाँडा हुँदै पुनः कमेरेमा आएर समापन हुने आयोजकले जनाएको छ। यो रुट दुई फन्को लगाएपछि ५० किलोमिटर दुरी पुरा हुने कास्की जिल्ला साइक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले बताए ।
प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १० हजार रुपैयाँ पुरस्कार राखिएको छ । ४० वर्षमाथिको विधामा प्रथम हुनेलाई १० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजार पुरस्कार दिइने आयोजकले जनाएको छ।
४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई÷दुई जना महिला र पुरुष प्रतियोगीलाई ५÷५ हजार रुपैयाँ दिइने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।