काठमाडौं । नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा निर्णय नभए पनि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्रीको दाबी गर्दै दौडधुप बढाएका हुन् ।
सत्ता गठबनधनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।
गठबन्धनकै सरकार बनाउने र पहिलोपटक आफू प्रधानमन्त्री हुने दौडमा लागेका दाहाललाई देउवाले कांग्रेस संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सल्लाह गर्ने भन्दै टारेका थिए । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।
यता प्रतिनिधिसभा सदस्य निर्वाचनबाट दोस्रो ठूलो दल बनेको नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउन आफूले कुनै पहल नगरेको जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बनाउन प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरे पनि एमालेले त्यसका लागि आफ्ना तर्फबाट कुनै पहल नभएको जनाएको हो ।
एमालेले तत्काल सरकार गठनका लागि कुनै पहल नगरेको र वर्तमान सत्ता गठबन्धन दलहरूले नै पहल गर्ने भएकाले यो विषयमा मौन रहेको एमाले प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए । यतिबेला वाम गठबन्धनको सरकार बनाउने चर्चा चलिरहे पनि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता गठबन्धनको सरकार बनाउनुपर्ने पक्षमा छ ।
राष्ट्रपति भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई आह्वान गरिसकेपछि नेकपा एस प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रधानमन्त्रीमा आफ्नो पार्टीको दाबी नभएकाले कांग्रेस र माओवादी केन्द्र दुईमध्ये एकले प्रधानमन्त्री लिएर सरकार बनाउनुपर्ने बताए ।
नेकपा एसले शक्ति बाँडफाँटमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भए आफ्नो पार्टीले पनि सरकारको नेतृत्व गर्न सक्ने जनाएको छ ।