मुगुका १२ वटा गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । रिघा, कम्फा, चराप, कालापाल्ता, रावलबाडा, भियालबाडा, माग्री, गमगढी, गाडेखोला, भटडाडी, चरापलगायत बस्ती पहिरोको जोखिममा परेका हुन् ।
छायानाथरारा नगरपालिकास्थित २१ घरधुरी रहेको भियालबाडा दलित बस्तीमा वर्षा सुरु भएसँगै गाउँमाथिबाट पहिरो खस्ने क्रम जारी छ । गाउँमुनि कर्णाली नदीले जमिन कटान गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । केही घरहरु पहिरोले पुरिन थालेपछि नजिकैको लुम्सबगरमा बस्न थालेको स्थानीय नन्दबहादुर नेपालीले बताउनुभएको छ ।
उहाँका अनुसार नजिकैको भटडाडीगाउँमा पनि पहिरोको त्रास छ । गाउँमुनिबाट पहिरो खस्न थालेपछि कम्फाका ४२ परिवार पनि त्रासै त्रासमा घरमा बस्न बाध्य भएको उहाँले जानकारी दिनुभयो ।
खत्याड गाउँपालिका–७ र ८ स्थित रिघागाउँ पहिरोको उच्च जोखिममा परेपछि ठूलो वर्षा हुँदा स्थानीयबासी पिपलचौतारामा जम्मा भएर बस्ने गरेका छन् । २ वर्षअघि गाउँमाथिबाट खसेको पहिरोले १४ घर पुरेको थियो । ताल्चा विमानस्थलको ढल कालापाल्ता बस्तीमा पस्न थालेपछि एक दर्जन स्थानीयको जग्गा पहिरोले बगाएको छ । पहिरोको जोखिम बढ्दै गएपछि पानी परेको रात जाग्राम बस्ने गरेको स्थानीय प्रविण रावलले गुनासो गर्नुभयो ।
बाढी–पहिरो जानसक्ने क्षेत्रमा पूर्वतयारी थालिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौला बताउँनुभयो । प्रकोप भए ठूलो क्षति नहोस् भनेर उद्धार टोली तयारी अवस्थामा राखेको उहाँको भनाई छ । सबै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरी पूर्वतयारीका लागि क्रियाशील बनाइएको छ ।