काठमाडौं । प्रहरी हिरासतमा रहेका आफ्ना छोरा डा पंकज चौधरीलाई छुटाउन भन्दै बाबु रामप्रेश चौधरीले अदालतमा रिट दायर गरेका छन् । रामप्रेशले महोत्तरी जिल्ला अदालतमा शुक्रबार (आज) बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्दै छोराको रिहाइको माग गरेका हुन् ।
दाइजोको निहुँमा श्रीमतीमाथि कुटपिट गरेको आरोप लागेका पंकजलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेर हिरासतमा राखेको छ । उनकी श्रीमती नेहा चौधरीले दाइजोको निहुँमा आफूमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।
पक्राउ परेका पंकजविरुद्ध दाइजो लिन नहुने र घरेलु हिंसासम्बन्धी २ वटा कसुरमा मुद्दा चलाइएको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
यता छोरा छुटाउन माग राख्दै रिट हालेका रामप्रेश समेत फरार सूचीमा छन् । नेहाले आफ्ना पतिसहित उक्त परिवारका ६ जनाविरुद्ध जाहेरी दिएकी थिइन्। त्यसपछि उनीहरु फरार भएका छन् ।
३ वर्षअघि काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दै गर्दा महोत्तरी औरहीकी नेहासँग पंकजको भेट भएको थियो । त्यसपछि प्रेममा परेका उनीहरुले २०७७ फागुन ६ गते टिकाटालो गर्दै एक वर्षपछि २०७८ फागुन २५ गते विवाह गरेका थिए ।
नेहाको माइती पक्षले ५१ लाख रुपैयाँसहित २० तोला सुन दाइजो दिएको बताउँदै आएको छ । दाइजो कम भएको भन्दै श्रीमान् पंकज र परिवारले आफूलाई मानसिक तनाव दिने थालेको नेहाले केही समय अगाडि सार्वजनिक गरेकी थिइन् ।
यसबीचमा प्रहरीले पंकजलाई पक्राउ गरेर सम्झाई–बुझाई गरेर छाडेको थियो । त्यसपछि पनि दाइजोको निहुँमा घरेलु हिंसा हुने क्रम नरोकिएको भन्दै नेहाले पति पंकजविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।
नेहाले आफूमाथि हिंसा भएको सार्वजनिक गरेपछि पंकजलाई ग्राण्डी अस्पतालले सेवाबाट निकालेको थियो ।