काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले (अर्डर अफ द राइजिङ सन) पदक प्रदान गरेको छ ।
वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले बिहीवार आज उनकै निवासमा (अर्डर अफ द राइजिङ सन) पदक प्रदान गरेका हुन् ।
सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिडलगायतका कारण आज प्रदान गरिएको हो । जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान (अर्डर अफ द राइजिङ सन) आज दिउँसो ३ बजे वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको हो ।
विश्वका विशिष्ट व्यक्तिहरुलाई वर्षको दुई पटक प्रदान गरिने यस सम्मान घोषणामा नेता पौडेल र माइक्रोसफ्टका संस्थापक बिल गेट्स थिए।
वरिष्ठ नेता पौडेललाई विशेषतः पूर्व सभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गरेको योगदानका लागि कदर गरिएको हो ।
वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए ।
उनी सन् २०१७ सम्म लिगको नेतृत्वमा रहनुका साथै द्विपक्षीय सम्बन्धको प्रवर्द्धनमा पनि सक्रियरूपमा संलग्न छन् ।
जापान र अन्य देशबीचको राजनीति र कुटनीति, अनुसन्धान र शिक्षा, चिकित्सा तथा समाज कल्याण, अर्थतन्त्र र उद्योग, संस्कृति र खेलकुदजस्ता क्षेत्रमा सम्बन्ध प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई पनि यो सम्मान प्रदान गरिन्छ ।