काठमाडौं । भारतले महाकाली नदीमा तटबन्ध निर्माणका क्रममा अनधिकृत रुपमा बनाएको संरचना हटाउन ढिलाइ गरेको छ । अनधिकृत संरचना हटाउने भनेर नेपाल–भारतबीच मंसिर २१ मा भएको सहमति कार्यान्वयन गर्न भारतले आनाकानी गरिरहेको हो ।
मंसिर २१ गते नेपाली र भारतीय प्रशासनका बीच भारतको धारचुलामा अस्थायी अर्थात् कृतिम तटबन्ध १० दिनभित्र हटाउने सहमति भएको थियो । तर, १० दिन बित्न लाग्दासमेत भारतले ढुङ्गा र तारजालीसहितको तटबन्ध हटाएको छैन ।
भारतले उक्त संरचना नहटाए बर्खामा नदीको धार पूरै नेपालतर्फ फर्किइ क्षति गर्ने जोखिम छ । जिल्ला सदरमुकाम खलंगापारी भारतले महाकाली किनारमा करिब १ किलोमिटर लम्बाइ, ८ मिटर उचाइ र चौडाइको पक्की तटबन्ध बनाइरहेको छ ।
तटबन्ध निर्माणका क्रममा भारतले नदी किनारमा थुप्रै ढुंगाहरु, तारजालीसहितको बाँध खडा गर्दा पानी नेपालतिर सोझिएको छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले पुरानो सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताए ।
नदी किनारका अस्थायी संरचना हटाउन १० दिनको समयावधि दिइएको र सो अवधिमा ती संरचना नहटाए तत्काल बैठक बसी संरचना हटाउन ध्यानाकर्षण गराइने उनले बताए ।
मंसिर २१ गतेको बैठकमा नेपालतर्फ फर्किएको नदीको धार बीचमा पार्ने, अत्यावश्यक बाहेकका अस्थायी डाइभर्सन र संरचना तत्काल हटाउने सहमति भएको प्रजिअ उपाध्यायको भनाइ छ ।
भारतले पक्की तटबन्धभन्दा नदी किनारतिर आएर धार परिवर्तन हुने गरी संरचना निर्माण गर्दा नेपाली पक्षबाट विरोध हुदै आएको छ।