धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको भावी मुख्यमन्त्री हुन नेपाली काँग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरुको दौडधुप सुरू भएको छ। मुख्यमन्त्रीका आकांक्षी नेताहरू अहिले पार्टीको नेतृत्वलाई रिझाउन काठमाडौंमा छन्।
नेपाली काँग्रेस प्रदेश सभामा सबैभन्दा ठुलो दल भएकाले सरकारको नेतृत्व पाउनुपर्ने काँग्रेसका नवनिर्वाचित प्रदेश सभा सदस्यले बताएका छन्। संसदीय दलको नेता नै मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले सुरूमै माहोल आफ्नो पक्षमा पार्न नेताहरूले अभ्यास थालेका हुन्।
भावी मुख्यमन्त्री बन्न काँग्रेसका प्रदेश सभा सदस्यहरूबीच अहिले सुस्त गतिमा हानथाप सुरु भएको छ। मुख्यमन्त्रीका आकांक्षी नेताहरू पार्टी सभापति शेरबहादुर देउवा शक्ति केन्द्रको समर्थन र १९ मध्ये बहुमत सदस्यहरूको साथ जुटाउने कसरतमा लागेका छन्। मुख्यमन्त्रीको चाहना राख्ने नेताहरुले विभिन्न तरिकाले समर्थन जुटाउने प्रयास थालेको एक जना प्रदेश सभा सदस्यले बताए। तर संसदीय दलको नेताको आकांक्षी भए पनि अहिले पार्टीको निर्देशन पर्खिरहेको कैलाली ४ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताए। अहिले हामी केन्द्रको निर्देशन पर्खिरहेका छौँ, मसँग अहिलेसम्म संसदीय दलको नेताको आकांक्षी कसैले पनि सल्लाह भने गरेका छैनन्, उनले भने, स्वाभाविक रुपमा मेरो पनि दाबी भने हो।
निर्वाचन आयोगले बुधबार चुनावको अन्तिम नतिजा सार्वजनिक गरेको छ। चुनावका सम्पूर्ण प्रक्रिया निर्वाचन आयोगले सकेसँगै केन्द्र र प्रदेशहरूमा नयाँ सरकार गठनका लागि दलहरूले प्रक्रिया अगाडि बढाउने छन्। केन्द्र र प्रदेशमा कुन दल तथा नेताको नेतृत्वमा सरकार बन्ला भनेर चासोका साथ हेरिएको छ। सुदूरपश्चिम प्रदेशमा गठबन्धन दलहरूको स्पष्ट बहुमत छ। तर गठबन्धनमा कुन दलको कुन नेताले मुख्यमन्त्री त्रिलोचन भट्टको उत्तराधिकारी बन्न पाउछँन् भन्ने अझै स्पष्ट भएको छैन। प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसका आधा दर्जन नवनिर्वाचित प्रदेश सभा सदस्यहरू संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने बाटो पैलाउने कसरमा लागेका छन्। दलको नेता तथा भावी मुख्यमन्त्रीका आकांक्षी नेताहरू अहिले काठमाडौंमा छन्। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाको समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
नेपाली काँग्रेसबाट सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका १९ जनामध्ये झण्डै आधा दर्जन नेताले संसदीय दलको नेता हुँदै मुख्यमन्त्री हुने अभिलाशा राखेका छन्। अछामबाट निर्वाचित प्रदेश सभा सदस्य एवं पार्टीका प्रदेश महामन्त्री मेघराज खड्काले संसदीय दलको नेता सहमतिबाट चयन हुने बताएका छन्।
सुदूरपश्चिममा सहमतिबाट संसदीय दलको नेता चयन हुनेछ,उनले भने, केन्द्रमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेपछि सबैको सांसदहरूको भावना बुझेर निर्णय हुनेछ। नेपाली काँग्रेसकामा सहमतिबाट नै संसदीय दलको नेता छनोट हुनुपर्ने प्रदेश सभा सदस्यले बताएका छन्।
केन्द्रमा सरकारको नेतृत्वबारे टुङ्गो नलाग्दासम्म प्रदेश सरकार गठनले औपचारिकता नपाउने भनाइ नेताहरूको छ। तर, संसदीय दलको नेताका लागि चर्चामा रहेका प्रदेश सभा सदस्यहरूले आफूलाई पार्टी सभापति र प्रदेश सभा सदस्यहरूको समर्थन रहने विश्वास गरेका छन्। प्रदेश सभामा निर्वाचित नेपाली काँग्रेसका नेताहरूमा सबैभन्दा वरिष्ठ र बलियो उम्मेदवार आफू भएकाले पार्टी सभापतिको सल्लाहमा संसदीय दलको नेता बन्ने कञ्चनपुरबाट निर्वाचित प्रदेश सभा सदस्य दिवानसिंह विष्टले बताए। सबैभन्दा सिनियर भएकाले स्वाभाविक रुपमा दलको नेतामा मेरो दाबी रहन्छ, उनले भने, पार्टी सभापति देउवा दाइ र प्रचण्ड जीको आग्रहमा चुनाव लडेको हुँ। सहमतिबाट सबै कुराको छिनोफानो हुने विश्वास छ। नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले नयाँ बन्ने सुदूरपश्चिम सरकारको नेतृत्व काँग्रेसले पाउनुपर्ने बताएका छन्। पाँच वर्ष नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व लिएकाले प्रदेश सभाको ठूलो दल नेपाली काँग्रेसले सरकारको नेतृत्व लिनु स्वाभाविक हुने प्रदेश सभा सदस्यहरुको मत रहेको छ।
नेपाली काँग्रेसबाट नयाँ बन्ने सुदूरपश्चिम सरकारको नेतृत्व लिन आफू सक्षम रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित प्रदेश सभा सदस्य बहादुरसिंह थापाले बताए। पार्टी सभापतिको सल्लाहअनुसार सहमतिबाट नै नेतृत्व चयन हुनेछ, उनले भने, नेतृत्व लिने कुरामा मेरो पनि दाबी छ र सबैले समर्थन गर्ने विश्वास पनि छ। नेपाली काँग्रेसका नवनिर्वाचित प्रदेश सभा सदस्यमा संसदीय दलको नेताका बन्नका लागि प्रदेश महामन्त्री मेघराज खड्का, प्रदेश सभा सदस्य दिवानसिंह विष्ट र बहादुरसिंह थापा आ–आफ्नो पक्षमा पार्टी नेतृत्वको समर्थन जुटाउन काठमाडौमा दौडधुप गरिरहेका छन्। यस्तै, कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को (२) बाट निर्वाचित
प्रकाशबहादुर बम कैलाली ५ को (२) बाट निर्वाचित प्रकाशबहादुर देउवाको पनि संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने चर्चा काँग्रेस वृत्तमा चुलिएको छ।