काठमाडौं । संसद् सचिवालयले १६औं संसद् सेवा दिवस मनाइरहेको छ। संसद् सेवा दिवस मनाइरहँदा भएका गतिविधिहरुले सबैको ध्यान तानेको छ ।
मंगलबार संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक अवस्थामा सुधार नआई संसद् सचिवालयका लागि बजेट बढाउन नमिल्ने र जनताको आर्थिक अवस्था कमजोर भएको बेला कर्मचारीहरुले आफ्नो सुविधा थप गर्न माग गर्न नहुने बताए।
अध्यक्ष तिमिल्सिनाको उक्त भनाइबाट रुष्ट संसद् सचिवालका कर्मचारीहरुले बुधबार संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा पुस्तक विमोचन र प्राविधिक कुरामा समस्या खडा गरिदिए । तोकिएको समयमा कर्मचारीहरु कार्यक्रमस्थलमा नपुगेको र कार्यक्रममा माइक बिगारिदिएको आरोप अध्यक्ष तिमिल्सिनाले लगाए ।
सेवा, सुविधा अहिले बढाउनसक्ने अवस्था छैन भन्दैमा यस्ता त्रुटीहरु गरेको भन्दै उनले आपत्ति जनाए । उनले कर्मचारीले जनतालाई दिने सेवा सुविधा र पाउने सेवा सुविधा एक आपसमा जोडिने भन्दै उनले कहिलेकाहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा पछि हट्नु नहुने बताए ।
उनले विमोचन गर्ने पुस्तक ढिला ल्याउनु, राष्ट्रगान बजाउने बेलामा माइक नै बिगार्नु र प्राविधिक विषयमको व्यवस्थापन नभइकन कार्यक्रम सञ्चालन गर्नु सेवा नै नपुगेर होरु भन्दै प्रश्नसमेत गरे ।
उनले आफ्ना दायित्व कर्मचारीहरुले पूरा नगरेको कुरा सम्झिने कि नसम्झिने भन्दै प्रश्न गरे। अध्यक्ष तिमिल्सिनाले संघीय संसद्मा काम गर्ने कर्मचारीले भन्सारको डिजी हुन चाहेको भाषणा गरेको भन्दै आपत्ति जनाए ।
उनले माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर सेवा, सुविधा बढ्छ भन्ने भ्रम पालेर नबस्न आग्रह गरे । अध्यक्ष तिमिल्सिनाले आफूले कोही पनि कर्मचारीलाई गोजीबाट पुरस्कृत र बढुवा गरेको देखाउन चुनौती दिँदै त्यस्तो पाए आफूले तत्काल पदबाट राजीनामा दिनेपनि बताए ।
‘देशभर निर्वाचनको माहोल थियो, अब अन्यत्रको माहोल सकिएको छ, संघीय संसदभित्र निर्वाचन छिरेजस्तो मलाई लागेको छ । बाहिरको निर्वाचनको रौनक अब यहाँ आएको जस्तो भएको छ। हामीले दिने सेवा र हामीले पाउने सुविधा एक आपसमा अवश्य पनि जोडिन्छ । तर, यसको मतलब यो होइन कि, कहिलेकाहीँ सुविधाहरु कम हुँदा पनि सेवालाई अघि बढाउने कुरामा हामी पछि हट्नुपर्छ वा त्यसलाई ढिलासुस्ती गर्नुपर्छ, यो हुन सक्दैन। म हिजोबाट हेरिरहेको छु, अरु त सबै व्यवस्थापन समितिले संघीय संसद्को नेतृत्वले वा नेपाल सरकारले सुविधा दिएर यहाँहरुले भन्नुभएको कमी कमजोरीहरु भएका होलान्, विमोचन गर्ने पुस्तक पनि सेवा नभएर यति ढिला आयो। माइकहरु राष्ट्रगान बजाउने बेलामा, बोल्ने बेलामा सेवा नै नपुगेर मात्रै हो बिग्रिएको ?’, तिमिल्सिनाले भने।
‘केही करारमा बाहेक, सबै लोकसेवा लडेर आउनुभएको छ । लोकसेवा लड्दा खालि सहसचिव, उपसचिव, अधिकृतको प्रतिस्पर्धा मात्रै हेर्नुभयो कि ? त्यहाँ जाँदा सेवा, सुविधा के हुन्छ भनेर पनि हेर्नुभयोरु संघीय संसद्मा आएर भन्सारको डिजी हुन चाहनेहरु पनि देखियो । कसरी तालमेल मिल्छ यो कुरा ?’, उनले थपे, ‘आफूले सुधार्नुपर्ने कुरा कतै नबोल्ने, के चाहियो खालि सुविधा, सुविधा चाहिन्छ तर सेवा पनि चाहियो । यही सेवाबाट राम्रो गर्छौं भनेर लोकसेवा लडेर आउनुभएको छ नि। कि झुक्याएको छ। लोकसेवाबाट यहाँ आउने बेलामा धेरै चिज आउँछ, भन्सारमा पनि जान पाइन्छ, मुख्यसचिव पनि हुन पाइन्छ भनेर हामीले रोक्यौँ। माइक बिगारेर, कार्यक्रममा अन्टसन्ट गरेर पाउँछौँ भनेर कहिल्यै नसोच्नुस्। यो सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरु पकेटको, मेरो आफ्नो भने र गर्नु नहुनेलाई गरेको छ भने म त्यसको सम्पूर्ण जिम्मा लिन्छु, अन्यथा यस्ता कुरा गरेर कहीँ पुगिँदैन।’
त्यस्तै, संघीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले अध्ययन विदाका लागि र क्षमता विकास गर्ने कुरामा संसद् सचिवालयले कुनै कर्मचारीलाई नरोकेको बताए। उनले बढुवाको अनुमोदन गर्ने कुरामा कर्मचारीहरुकै सहजताको लागि आफू ५ बजेसम्म बसेर भएपनि काम गरेको भन्दै साना कामहरुमा झमेला झिकेर नबस्न आग्रह गरे।
उनले आफू र व्यवस्थापनलाई प्रशंसा नचाहिएको भन्दै कर्मचारीहरुले आफ्ना जिम्मेवारी र काम पूर्ण रुपमा गर्न र संसद्ले गरेका कामहरु कमजोर नदेख्न आग्रह गरे । कर्मचारीहरु कार्यक्रम छ भनेर अघिल्लो दिन नै जानकारी दिँदासमेत समयमा उपस्थिति नभएको र प्राविधिक कुराहरुमा भएका गल्तीको जिम्मा आफूले लिने उनको भनाइ छ ।
‘चार जना साथीहरु अध्ययन विदामा छात्रवृत्ति पाएर जानुभएको छ । क्षमता वृद्धिको लागि निर्णय गर्ने भनेर गरिएको छ। एमओयु गर्नुपर्छ भनेर पनि गरिएको छ, अध्ययन विदा दिएको छ, मलाई बताउनुहोस्, अध्ययन विदा बाहरि कति गाह्रो छ, प्रत्येक साथीहरुलाई भनेको छु, ग्लोबल कम्पिटीसन गर्नुहोस्, सरकारबाट कन्फर्म सिट आउला र बसौंला भन्नेकुरा छैन’, उनले भने, ‘तपाईहरु गर्नुस् हामी विदा दिन्छौँ। हामीले दिनसक्ने कुरा पो बोल्ने हो। तपाईंहरूको बढुवा हामीले कति लडेर ल्याएको हो, सचिवज्यूहरुले कति लड्नुभयो। तपाईंहरु अण्डरस्टिमेट गर्नेरु त्यो मोटिभेसन हो कि होइनरु कति वर्ष हल्लिएको थियो। त्यो कुरा लागू भएको थियो ?’
महासचिव गौतमले कर्मचारीहरुले आफ्ना जिम्मेवारी र दायित्व राम्रोसँग निभाउने हो भने आम नागरिक, सांसद, नेता सबैले त्यसको लाभ लिने भन्दै कर्मचारीहरुको सेवा सुविधामा पनि नतिजामुखी कामले नै विस्तार गर्न सकिने बताए।