काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्न लागेको बताएका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच मुख्य पदको बाँडफाँटको गृहकार्य चलिरहेको समयमा प्रतिनिधि सभाको तेस्रो ठूलो दलका अध्यक्ष प्रचण्डले आफैं प्रधानमन्त्री बन्ने सम्भावना दर्शाएका हुन् ।
‘मसँग सायद अब धेरै वर्ष समय छैन । तपाईंहरुको आशीर्वाद लाग्यो, तपाईंहरुको माया र तपाईंहरुको शुभकामनाले काम गर्यो भने मलाई लाग्छ, म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु,’ बुधबार कास्कीको एक विद्यालयको हीरक जयन्ती महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले भने।
उनले आफ्नो पहिलो कार्यकाल राम्रोसँग विधि प्रक्रिया र उतारचढावलाई बुझ्नै नपाइकन बितेको बताए। ‘दोस्रो कार्यकालमा मैले देशका लागि केही महत्त्वपूर्ण काम गरेँ भन्ने मलाई गर्व छ,’ उनको भनाइ थियो ।
प्रधानमन्त्रीको रुपमा आफ्नो दोस्रो कार्यालयमा राष्ट्रको एकतालाई सुदृढ गर्ने काम गर्न सकेको उनको दाबी थियो ।उनले त्यतिबेला आर्थिक विकासलाई गति दिने र कैयौँ दशकदेखि पछि परेको आर्थिक विकासको ग्राफलाई बढाउने अवसर आफूलाई प्राप्त भएको बताए ।
उनले त्यतिबेला आफूले संविधान बनेपछिको निर्वाचनको सुरुवात गर्न सकेको बताए ।
उनले भने, ‘अहिले फेरि देश अराजकतातिर जाने हो कि, केही समस्या आउने हो कि भन्ने बेलामा फेरि हामी भर्खरै अहिले स्थानीय तहको निर्वाचन र प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर हामीले देशको शासन व्यवस्था र संविधानलाई गति दिने काममा सफलता प्राप्त गर्ने काम गरेका छौँ । यो हामी सबै राजनीतिक दलहरु, नागरिक समाज, बुद्धिजीवी र आम नेपाली जनताकै विजयको रुपमा छ।’