काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
सोही अध्यादेशलाई छिटोभन्दा छिटो प्रमाणीकरण गर्न माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना गरेका हुन् । थारु कल्याणकारिणी सभा र थारुहटरथारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठन तथा व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
उनीहरूले अध्यादेश अविलम्ब प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरूलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र चौधरीले रेशम चौधरी लगायतका आरोपित व्यक्तिहरू निर्दोष रहेका बताए ।
उनले टीकापुर घटनाको सम्बन्धमा नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरे । नेपाली काग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको भन्दै उनले पार्टीको धारणा स्पष्ट पार्न अनुरोध गरे ।
उनले टीकापुर घटनाको सम्बन्धमा नेकपा (एमाले) ले द्वैध चरित्र देखाएको आरोप लगाए । विगतमा एमाले सरकारले पनि रेशम चौधरीको रिहाइको लागि सम्झौता गरेको उल्लेख गर्दै चौधरीले आफुले सम्झौता गर्दा ठिक र अर्को सरकारले गर्दा बेठिक भनी एमालेले द्वैध चरित्र प्रदर्शन गरेको बताए ।
उनले अध्यादेश संवैधानिक रूपमा आएको भन्दै छिटोभन्दा छिटो प्रमाणीकरण हुनुपर्नेमा जोड दिए ।