काठमाडौं । दमक अस्पतालमा रगत परीक्षणका लागि प्रयोग गरिने उपकरणमा समस्या आएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् ।
प्रयोगशालामा उपलब्ध रगत परीक्षणमा प्रयोग हुने एउटा उपकरणमा खराबी आएपछि यही मङ्सिर २२ देखि अस्पतालबाट नियमित रुपमा उपलब्ध हुने प्रयोगशालाको काम अवरुद्ध हुँदै आएको हो ।
नियमित सेवा उपलब्ध गराउन नसक्दा रक्त परीक्षणका लागि सेवा लिने आउने दैनिक तीन सयदेखि चार सय बिरामी मर्कामा परेका छन् ।
अस्पतालका ल्याव टेक्निसियन निरीक्षक लोकनाथ पौडेलले उपकरणमा समस्या देखिएपछि काठमाडौँबाट प्राविधिक इन्जिनियर बोलाएर मर्मत गरिए पनि पूर्णरुपमा तयार नहुँदा समस्या देखिएको बताए ।
“मर्मतको काम भइरहेकाले अब एक–दुई दिनभित्रमै सेवा उपलब्ध हुनेछ”, उनले भने ।
पौडेलका अनुसार ल्यावमा दैनिक तीन सयदेखि चार सयसम्म रगतको नमुना परीक्षण गर्नुपर्छ । ल्याबमा एक पटकमा ४० नमुना परीक्षण गर्न सकिन्छ भने परीक्षणका लागि दुई घण्टा लाग्छ ।
उनले नमुना परीक्षण गर्नेको सङ्ख्या बढेकाले उपकरणको सङ्ख्या बढाएर तीनवटासम्म पुर्याउन सके मात्रै चाप व्यवस्थापन गर्न सकिने बताए ।
अस्पताल रेखदेख तथा व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति नबन्दा काम गर्न समस्या भएको कार्यपालिकाका एक सदस्यले बताए । नगरपालिकामा नयाँ जनप्रतिनिधि आएको सात महिना बित्नै लाग्दासमेत समिति गठन हुन नसकेको हो ।
कार्यपालिका बैठकमा नगरप्रमुखले प्रस्ताव ल्याउने अभ्यास रहे पनि नगरप्रमुखले हालसम्म अस्पताल सञ्चालक समिति गठनको प्रस्ताव नल्याएको ती सदस्यको दाबी छ ।