काठमाडौं । नेपाल प्रहरीका १३ जना पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) हरूले सरकारले हालै ल्याएको अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भएका रेशम चौधरीलगायतलाई रिहा गर्न मिल्ने गरी ल्याएको अध्यादेश अहिले राष्ट्रपति कार्यालयमा छ ।
राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्न बाँकी रहेका बेला बैठक बसेर पूर्वआइजिपीहरूले उक्त अध्यादेश संविधानको मर्मविपरीत, सर्वोच्च अदालतबाट जारी निर्णय र नजिरहरूको बर्खिलाप र फौजदारी न्याय प्रणालीको विपरीत भएको बताएका छन्।
उनीहरूले भनेका छन्, यसबाट बहालवाला तथा निवर्तमान सुरक्षाकर्मी र निजका परिवारहरूलाई हतोत्साही र निराश बनाएकाले अध्यादेश तत्काल खारेज गर्न जोडदार अपिल गर्दछौं ।
यसरी अपिल गर्नेहरूमा पूर्वप्रहरी महानिरीक्षकहरू मोतीलाल बोहरा, अच्यूतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, श्यामभक्त थापा, ओमविक्रम राणा, रमेश चन्द ठकुरी, रवीन्द्रप्रताप शाह, कुवेरसिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल, ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापा क्षेत्री छन् ।